राष्ट्रपतिको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न

अविलम्ब अध्यादेश फिर्ता लेऊ, संसद बोलाऊ

पुस, ३ काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।
एक पटक फिर्ता भएर पुनः गएको संवैधानिक परिषद ऐन संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिले हतारो गर्नु संविधानको भावना र मर्म विपरित हुन पुगेको कांग्रेसको ठहर छ ।

शुक्रबार संसद भवन नयाँ वानेश्वरमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले भने, फिर्ता लिइ सक्या अध्यादेश फेरि लाँदा राष्ट्रपति जी ले त्यति चाँडो रेस्पोन्स गरेर स्वीकृत गर्नु यो उहाँको कमजोरी हो । संविधान विपरितै हो । राष्ट्रपति जीले यस्ता खालका संविधान विपरितका कामकारबाही गर्नु हुँदैन् ।’

पहिलो पटक संवैधानिक परिषद ऐन संशोधन अध्यादेश आउँदा सबै राजनीतिक दल र संबै तह र कानुनका विज्ञहरु, सञ्चारमाध्यम र आम जनताले विरोध गरेपछि फिर्ता भएको खाडले स्मरण गरे ।

राष्ट्रपतिले दोस्रो पटक अध्यादेश आउँदा के हुन्छ भनेर ख्याल गर्ने। सच्याउन प्रयत्न नगरेका कारणले पनि प्रश्न उठेको कांग्रेसको बुझाई छ ।

खाडले अगाडि भने, ‘राष्ट्रपति जिले राम्रो गर्नुभएन । संविधानको पालना गर्ने, संविधानको रक्षा गर्र्ने प्रमुख दायित्व राष्ट्रपति जी को हो । सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकुल छन् भने सच्याउन राष्ट्रपतिले सुझाव दिने सल्लाह दिने परम्परा छ र यो चलन संसारभरी छ ।’

बैठकमा सहभागि नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले राष्ट्रपतिकै कारण सरकार निरकुश र सर्वसत्तावादतिर उन्मुख भइरहेको आफुले अनुभुत गरेको बताएका छन् ।

ति नेताका अनुसार देउवाले भनेका छन्, ‘संविधानले संवैधानिक निकायमा नियुक्ति गर्दा निश्पक्ष होस भनेर राज्यमा तीनै अंगका प्रमुख र विपक्षीको सहभागिता सुनिश्चित गरेको हो । तर, सरकार अध्यादेशमार्फत त्यो रोक्दैछ । त्यसकारण यो अध्यादेशले संविधान संशोधन गर्छ । तर, राष्ट्रपति यस्तो ख्याल गर्दैनन् । उनी प्रधानमन्त्रीको विश्वासमा परेका कारण छलछाम भइरहेको छ ।’

नेताहरुका अनुसार सभापति देउवाले थपेका छन्, ‘अध्यादेश संसदमा नआइ निश्क्रिय हुन्न । र यो अध्यादेश अनुसार काम गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल हुने भनेको संविधान फेल खाने हो । त्यसकारण अध्यादेशलाई अविलम्ब फिर्ता लिनु भन्नुपर्छ ।’

प्रमुख सचेतक खाँडले राष्ट्रपति संविधानको प्रतिकुलमा उभिनु, राष्ट्रपतिको जनतामा तिव्र विरोध हुँदा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन बाधा उत्पन्न गराउने बताए ।

प्रमुख सचेतक खाणँले अनलाइनखबरसंग भने, ‘राष्ट्रपति संविधानको प्रतिकुलमा उभिनु, राष्ट्रपतिको जनतामा तिव्र विरोध हुनुले राष्टपति पद्धति प्रति जनतामा गम्भीर आघात पुर्याउँछ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई त्यसले सबल गराउन बाधा उत्पन्न गराउँछ । त्यसकारण राष्ट्रपति जी गम्भीर बन्नुहोस् भन्ने कांग्रेसको सल्लाह छ ।’

अविलम्ब अध्यादेश फिर्ता लेऊ, संसद बोलाऊ

कांग्रेसले सरकारलाई अविलम्ब अध्यादेश फिर्ता लिन र संसदको हिउँदे अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ ।

‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस्’ बैठकपछि प्रमुख सचेतक खाँडले भने ।

कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खाँडले भने ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन पनि माग गरेको छ ।

‘सरकारले गरेका कमजोरीलाई परिमार्जन गर्दै सच्याउने प्रतिवद्धता र क्रियाशिलता आवश्यक छ । आम नेपालीले भोगिरहेको जुन पीडा छ त्यसलाई सम्बोधन गर्न सरकार गम्भीर बनोस् । त्यसका लागि अधिवेशन अविलम्ब बोलाओस् भन्ने बैठकले निर्णय गरेको छ’ खाँडले भने ।

कोरोना महामारी नियन्त्रणमा सरकार असफल

कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ ।

बरु कोरोना महामारी नियन्त्रण गर्ने नाममा अनियमितता र भ्रष्टाचार भएको उसको आरोप छ ।

‘कोरोनाको महामारीको व्यवस्थापन गर्न सरकार पुर्णत असफल भएको छ’ खाँडले अगाडि भने, कोरोना महामरीको नियन्त्रण व्यवस्थापन र संक्रमितहरुको उपचारमा सरकार गम्भीर छैन् । उल्टै कोरोनाको नाममा आर्थिक अनियमितता भ्रष्टाचारहरु गरिराख्या छ । अनियमितता र भ्रष्टाचार रोक्न सरकार गम्भीर बनोस् भन्ने बैठकले निर्णय गरेको छ ।’

उखु किसानहरुको आन्दोलनमा समर्थन

कांग्रेसले उखु किसानहरुले काठमाडौंमा जारी राखेको आन्दोलनमा समर्थन् जनाएको छ ।

‘हामी उखु किसानले भुक्तानी पाउनको लागि जुन आन्दोलन गरिरहनुभएको छ त्यो आन्दोलनको समर्थन गर्दछौं’ प्रमुख सचेतक खाडले निर्णय सुनाउँदै भने ।

उखु किसनहरु लामो समयदेखि आफ्नो उखुको भुक्तानी नपाएको भन्दै राजधानी आएर आन्दोलन गरिरहेका छन् । र भुक्तानी दिलाइदिन सरकारसंग माग राखिरहेका छन् ।

शिक्षक हत्याको भ्रत्र्सना

कांग्रेसले मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याको भ्रत्र्सना गर्दै दोषीलाई कारबाहीमो माग गरेको छ ।

‘यो ज्यादै नै निन्दनीय र दुखद घटना हो । ति हत्याराहरुलाई कारबाही गरियोस् । यो हत्याको हामी भ्रत्सना पनि गर्दछौं ।’ खाँडले भने ।

मिक्लाजुङ–१ सरस्वती आधारभूत विद्यालयका ५४ वर्षीय प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते घरबाट अपहरण गरी स्थानीय देउढुंगा जंगलमा लगेर घाँटी रेटेर हत्या गरिएको थियो ।

हत्याको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले लिएको छ ।