कोभिड-१९ को असर महिलामा भन्दा पुरुषमा किन बढी हुन्छ ?

कोभिड १९ रोगको कारण हुने गम्भीर असर, अस्पताल भर्ना, आइसीयु भर्ना, र मृत्युमा लैंगिक भिन्नता हुने सम्भावना सबैभन्दा पहिले चीनमा देखियो । क्लिनिकल इन्फ़ेक्सिअस डीजिज जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार चीनमा महिला र पुरुष समान रुपले संक्रमित भएका थिए । तर मृत्युदर भने पुरुषमा २ दसमलव ८ प्रतिशत र महिलामा १ दसमलव ७ प्रतिशत थियो ।

सोहि अनुसन्धानका अनुसार दक्षिण कोरीयामा कोरोना भाइरस संक्रमित पुरुषहरुमा मृत्युदर १ दसमलव २ प्रतिशत थियो भने महिलामा मृत्युदर 0 दसमलव ५ प्रतिशत पाइयो । यसको मतलव चीनमा १००० जना पुरुष संक्रमित मध्ये २८ जनाको मृत्यु हुदा जम्मा १७ जना महिलाको मृत्यु भएको देखियो ।

त्यसैगरी दक्षिण कोरीयामा १००० जना पुरुष संक्रमित मध्ये १२ जनाको मृत्यु हुदा ५ जना महिलाको मृत्यु भएको थियो । त्यसैगरी अमेरिकाको न्युयोर्क शहरमा पनि महिलाको तुलनामा कोभिड-१९ को कारणले हुने अस्पताल भर्ना र मृत्यु पुरुषमा धेरै देखिएको छ ।

ग्लोबल हेल्थ फिफ्टी फिफ्टी नामक वेबसाइटले विश्वभर महिला र पुरुषमा भएको कोभिड-१९ को संक्रमण र मृत्युको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । जसका अनुसार विश्वभर ३८ देशले आफ्नो तथ्यांकमा कोभिड- १९ का कारण मृत्यु भएकाहरुको लिङ्ग खुलाएका छन् ।

यी ३८ देशमध्ये ३७ देशमा कोभिड-१९ का कारण मृत्यु हुनेको अनुपात पुरुषमा धेरै देखिएको छ । नेचर रिभ्युज इम्युनोलोजी जर्नलमा भर्खरै प्रकाशित लेखका अनुसार विश्वभरिको तथ्यांक हेर्दा कोभिड-१९ को कारण हुने मृत्युदर महिलाको तुलनामा पुरुषमा १ दसमलव ७ गुणा बढी छ । अर्थात् विश्वभर कोभिड- १९ ले १० जना महिलाको मृत्यु हुदा १७ जना पुरुषको मृत्यु हुने गरेको छ ।

त्यसैले अहिले सम्मको तथ्यांकलाइ आधार मान्ने हो भने कोभिड-१९ ले महिला र पुरुष दुबैलाई समान रुपले संक्रमण गरेपनि यसवाट हुने गम्भीर असर र मृत्युको जोखिम भने पुरुषमा धेरै देखिन्छ।

सन् २००२ र सन् २०१२ मा अरु कोरोना भाइरसको कारणले फैलिएका सार्स र मर्स नाम गरेका रोगमा पनि कोभिड-१९ मा जस्तै पुरुष मृत्युदर धेरै देखिएको थियो । कोभिड-१९ रोगसंग जोडिएको लैंगिक भिन्नताको पछाडी सामाजिक कारक तत्वहरु जस्तै चुरोट खाने बानि, स्वास्थ्य सुविधा खोजि गर्ने व्यवहार र पहिले देखि रहेका स्वास्थ्य समस्याहरुको केहि भूमिका हुनसक्छ ।

तर विश्वभरनै उस्तै परिणाम देखिनुले यसको लागि सामाजीक भन्दा पनि जैविक अर्थात् महिला र पुरुष विचको प्राकृतिक भिन्नताको मुख्य भूमिका हुने अनुमान गर्न सकिन्छ । महिला र पुरुषलाइ प्राकृतिकरुपमा क्रोमोजोम, प्रजनन अंग, तथा हार्मोनहरुले छुट्याएको हुन्छ । क्रोमोजोम र हार्मोनमा हुने भिन्नताले रोग प्रतिरोधात्मक क्षमता उत्पादनमा समेत भिन्नता ल्याउने गर्छ जसको असर कोभिड(१९ को परिणाममा समेत देखिएको हुनसक्छ ।

महिलाहरुमा दुइटा एक्स क्रोमोजोम पाइन्छ भने पुरुषमा एउटा एक्स र एउटा वाई क्रोमोजोम मिलेर जोडी बन्छ, जसले लिङ्ग निर्धारणमा मुख्य भूमिका खेल्छ । एक्स क्रोमोजोम वाई क्रोमोजोम भन्दा लामो हुन्छ र यसमा वाई क्रोमोजोममा भन्दा धेरै जिनहरु पाइन्छ ।

जिन बाबु आमावाट बन्शाणुगत गुण छोरा छोरीमा सार्ने माध्यम पनि हो । यिनै जिनहरुले हाम्रो शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता पनि विकाश गर्ने गर्छन । दुइटा एक्स क्रोमोजोम भएकोले पुरुषमा भन्दा महिलामा धेरै जिन हुन्छ । यसलाई सन्तुलनमा राख्न महिलाको एउटा एक्स क्रोमोजोम विकाशक्रममा निस्क्रिय बन्छ ।

यसको मतलव उक्त क्रोमोजोम संग सम्वन्धित जिनहरुपनि निस्क्रिय हुन्छन । तर यो प्रक्रिया पूर्णतया त्रुटी रहित हुदैन । त्यसैले कुनै कुनै जीन यो निस्क्रिय हुने प्रक्रियावाट उम्कन्छन र यी जीनहरु पुरुषमा भन्दा महिलामा धेरै हुन्छन । यसरि महिलामा पाइने एक्स क्रोमोजोमसंग सम्वन्थित अतिरिक्त जीनहरु इन्फ़्लुएञ्जा लगायत अरु रोगहरुमा लैंगिक भिन्नताको लागि संलग्न हुने देखिएको छ ।

त्यसैले कोभिड-१९ मा हुने लैंगिक भिन्नतामा पनि यस्ता जिनहरुको भूमिका हुनसक्छ ।
त्यसैगरी महिलाको शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोन नाम गरेका हार्मोन पाइन्छ भने पुरुषको शरीरमा टेस्टोस्टेरोन ।

यी हार्मोनहरुले रोगसंग लड्ने प्रतिरोधी क्षमता उत्पादनमा प्रतक्ष्य भूमिका खेल्ने गर्छन । उदाहरणका लागि एस्ट्रोजेनले इन्फ़्लुएञ्जा भाइरसको खोप लगाएपछि यो भाइरससंग लड्न चाहिने एन्टीवडी उत्पादनमा सहयोगी भूमिका खेल्छ भने टेस्टोस्टेरोनले विरोधी ।

इन्फ़्लुएञ्जाको खोप लगाएपछि एन्टीवडी उत्पादन पुरुषमा भन्दा महिलामा बढी हुने पाइएको छ । त्यसैले कोभिड-१९ को संक्रमण पछि देखिएको अस्पताल भर्ना, आइसीयु भर्ना, र मृत्युमा हुने लैंगिक भिन्नतामा समेत एस्ट्रोजेन र टेस्टोस्टेरोन लगायत अन्य हार्मोनको पनि महत्वपुर्ण भूमिका हुनसक्छ ।

(डा. ढकाल जोह्न्स होप्किन्स विश्वविद्यालयमा इन्फ्लुएन्जा र कोरोना भाइरसको 
संक्रमण र खोपको उपयोगितामा कार्यरत छन् )