महामारीको जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्किनेछ

संविधान दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

असोज ३, काठमाडौं ।
छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिकमञ्च, टुँडिखेलबाट देशबासीका नाममा गरेको संबोधन

– आज हामी छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउन यहाँ उपस्थित भएका छौं । सात दशक लामो संघर्ष र बलिदान एवं संविधान निर्माणको सन्दर्भमा बहस, विवाद र सहमतिको छ बर्ष लामो शृङ्खला पार गरी पाँच बर्ष अघि आजकै दिन हामीले संविधानसभाबाट नेपालको संविधान जारी गरेका थियौं । यस ऐतिहासिक दिनको अवसरमा सर्वप्रथम म, नेपाल सरकार तथा आफ्नो तर्फबाट मुलुक भित्र र मुलुक बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

आन्दोलनको क्रममा सहादत वरण गर्नुहुने सम्पूर्ण ज्ञातरअज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । जननिर्वाचित संविधानसभाद्वारा जनता आफैंले लेखेको संविधान जारी गराउने बिन्दुसम्म नेपाली राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । आन्दोलनको क्रममा बेपत्ता पारिएर, बेघरवार भएर, शारीरिक, मानसिक एवं पारिवारिक रुपमा क्षति ब्यहोरेर योगदान गर्नुहुने सम्पूर्ण देशबासीप्रति हार्दिक आदरभाव व्यक्त गर्दछु ।

– हामीले विगत तीन बर्ष यता यस राष्ट्रिय दिवसलाई विभिन्न तरिकाले मनाउँदै आएका छौं । संविधान जारी भएपछि निर्वाचित सरकार सञ्चालनको पहिलो बर्ष हामीले औपचारिक कार्यक्रम ग¥यौं । जनआकांक्षाका कुरा गर्यौं र त्यसलाई अघि बढाउन आधार तयार गर्यौं ।

– गत बर्षदेखि यस राष्ट्रिय दिवसलाई औपचारिक सरकारी समारोहबाट घररघरमा चर्चा हुने राष्ट्रिय चाडका रुपमा मनाउने प्रयास गर्यौं । जनआकांक्षा पूरा गर्न गरिएका कामको समीक्षा र त्यसको प्रगतिबारे चर्चा गर्यौं ।

– यो बर्ष हामी हाम्रो सामाजिक जीवनलाई अस्तब्यस्त पार्ने र देखिनेगरी उचाई लिन लागेको हाम्रो अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिने महामारी र त्यसको प्रभावका बारेमा विमर्श गर्दैछौं । महामारीले तोकिदिएको सीमाभित्र रहेर यस राष्ट्रिय दिवसको उत्सव मनाउँदै छौं । महामारीबाट भएको धनजनको क्षतिप्रति दुःख र समवेदना जनाउँदै छौं ।

– कोभिड–१९ को महामारी रोकथामको लागि पहिलो पटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुन सकेको छैन । यसअवधिमा मुलुकभित्र रहनुभएका ६० हजार भन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरु यस महामारीबाट संक्रमित भइसक्नु भएको छ । ४३ हजार भन्दा बढी संक्रमित यस अवधिमा निको भएपनि देशभित्र झण्डै चार सय र देशबाहिर विभिन्न मुलुकमा कार्यरत सयौंको संख्यामा नेपालीहरुको ज्यान यस महामारीले लिइसकेको छ । संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस महामारीबाट यति धेरै नेपालीहरुको जीवन गुमेकोमा दुःख व्यक्त गर्दछु । आफन्तको वियोगमा पीडाबोध गरिरहनु भएका स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा गहिरो समवेदना प्रकट गर्दछु ।

– मानव जातिले प्राकृतिक विपत्ति भोग्दै आएको छ र हामी नेपालीले पनि हरेक बर्ष भोग्दै आएका छौं । महामारीका अतिरिक्त भूकम्प, बाढी पहिरो, हावाहुरी र आगलागीजस्ता हामीले सामना गर्दै आएका प्राकृतिक विपत्तिहरु हुन् । यसपटक अतिबृष्टिका कारण देशका विभिन्न भागमा आएको बाढीरपहिरोबाट धेरैको ज्यान गएको छ भने दर्जनौं नेपालीले त सिंगो परिवार नै गुमाउनु परेको छ । केही बस्तीहरु सखाप भएका छन्, कैयौं परिवार घरबारबिहीन हुन पुगेका छन् । महामारीबाट ज्यान गुमाउने जत्तिकै संख्यामा यी प्राकृतिक विपत्तिमा पनि नेपालीहरुको ज्यान गएको छ । यस विपत्तिबाट जीवन गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
– प्रकृतिको नियम हो, कस्तै महामारी र विपत्तिमा पनि समय रोकिंदैन । ऋृतु फेरिन्छन् । जतिसुकै पीडा वा छटपटी रहे पनि मानिसहरु जीवनलाई निरन्तरता दिन्छन् । गौरवगाथा गाउने दिन गाउँछन्, स्मरण गर्नुपर्नेहरुलाई श्रद्धापूर्वक सम्झिन्छन् । प्रतिबद्धतालाई निरन्तरता दिन्छन्, बाँकी रहेको जिम्मेवारी पूरा गर्ने प्रण गर्छन् । महामारी र विपत्तिबीच हामी यिनै शोक र संकल्पहरुबीच यसबर्षको राष्ट्रिय दिवसको उत्सवमा सरिक भइरहेका छौं ।

दिदीबहिनी तथा दाजुभाइहरु,
– कोभिड–१९ एक्कासी आएको विपत्ति थियो । यस महामारीसँग सामना गर्न विश्वका कुनैपनि मुलुक तयारी अवस्थामा थिएनन् । हामी पनि थिएनौं । शुरुका दिनमा यसको प्रभाव र प्रवृत्तिका बारेमा अनुसन्धानमा संलग्न विज्ञहरुसमेत अलमलमा थिए । अफवाह थिए, आशंका र आतङ्क थिए । कोही लकडाउनको पक्षमा थिए, कोही विपक्षमा । कसरी सर्छ, कसरी फैलिन्छ, कसरी रोकथाम हुन्छ, कहिलेसम्म यसको कहर कायम रहन्छजस्ता विषयमा अडकलबाजीहरु धेरै थिए । यहाँसम्म कि कोरोना महामारी हो कि व्याधी भन्नेमा समेत बहस भएका थिए ।

– हामीले गत सालको चैत ११ गते पहिलो पटक लकडाउन गर्यौं, छिमेकी मुलुक भारतमा भन्दा एक दिन अघि । त्यस बखत हामीकहाँ संक्रमितहरुका २ वटा मात्र केस पहिचान भएका थिए । छिमेकी चीनमा यो महामारी नियन्त्रणमा आइसकेको थियो, छिमेकी भारतमा संक्रमितको संख्या ३ अङ्कमा सीमित थियो । त्यतिबेला विश्वस्तरमा नै मास्कसहित आवश्यक स्वास्थ्य सामग्रीको अभाव थियो । अभाव मात्रै होइन, हाहाकार नै थियो । अहिले विश्वकै स्वास्थ्य सामग्रीको प्रमुख स्रोत मुलुक मानिएको चीनमा समेत शुरुका दिनमा सर्जिकल मास्कको समेत अभाव थियो । हुने वा कम हुने छिमेकीहरुले जे जति छ, त्यति सर्जिकल मास्क ऐक्यबद्धता स्वरुप पठाई रहेका थिए ।

– आपतमा अत्तालिने र समयक्रममा बिर्सने मानवीय स्वभावलाई ध्यानमा राखी म त्यतिबेलाको अवस्था स्मरण गर्न यी बिषयमा चर्चा गरिरहेको छु । त्यतिबेला हामीमध्ये केही अलिक आत्तिएका थियौं, थोरै केही हुन्न भन्नेमा पनि थियौं । समग्रमा जनताको सुझबुझपूर्ण सहयोगमा कोरानालाई तह लगाउन सकिनेमा हामी विश्वस्त थियौं । हामीले लकडाउन गर्यौं । सर्वपक्षीय सल्लाह गर्यौं, सल्लाहमै रोकथाम, नियन्त्रण र उपचारको लागि क्षमताले भएसम्मका उपायहरु अपनायौं । हामीले ‘जनताको जीवन रक्षा पहिला’ भन्ने नीति अगाडि गर्यौं ।
उपलब्ध नयाँ तथ्यका आधारमा जनतालाई सचेत पार्ने हरसंभव प्रयास गर्यौं । यस अवधिमा प्रधानमन्त्रीको हैसियतमा मैले पटकपटक औपचारिक सम्बोधन गरें । मृगौला प्रत्यारोपणको लागि अपरेसन थियटरमा जानुअघि र अस्पातालबाट डिस्चार्ज भएलगत्तै पनि सम्बोधन गरें । यी सबै सम्बोधनमार्पत गरिएका काम र गर्ने कामका बारेमा आम देशबासीसँग सम्वाद गरें । सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय समयमा हात धुने मात्रै होइन, आप्mनो आन्तरिक रोग प्रतिरोधी क्षमता बृद्धि गरी सिङ्गो मुलुकलाई ‘निरोगी नेपाल अभियान’मा संलग्न हुनुपर्नेमा जोड दिएँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सबै प्रकृतिका कामदार\कर्मचारीहरु, तीनवटै तहमा कार्यरत जनप्रतिनिधिहरु, विज्ञहरु, राजनीतिक दल तथा आम नागरिकहरुको महामारी नियन्त्रण, रोकथाम र उपचारको यस राष्ट्रिय अभियानमा सक्रिय संलग्नता रह्यो, जुन खुशीको कुरा हो ।

दिदी–बहिनी दाजुभाइहरु,
– पर्याप्तता भन्ने सापेक्षित कुरा हो । सरकारले महामारीलाई चुनौतिका रुपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गर्नेगरी चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन् । कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ ।

२०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको थियो । हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ ।

शुरुको समयमा प्रतिपरीक्षण लागत रु ८ हजार ५ सय थियो । हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा २ हजार रुपैंयामा परीक्षण हुन थालेको छ । सिङ्गो जनसंख्याको कम्तिमा २ प्रतिशतमा पिसिआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ । प्रतिदशलाखमा पिसिआर परीक्षण ३० हजार नाघेको छ ।

पहिले आइसियू बेड क्षमता १ हजार ५५१ थियो, अहिले २ हजार ६०० पु¥याइएको छ । पहिले भेन्टिलेटर संख्या ७७० थियो, अहिले ९०० पुर्याइएको छ ।

पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ । प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत १०० जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको छ । २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीमहरु तयारी अवस्थामा राखिएको छ ।

बहुसंख्यक नेपालीहरुलाई कोभिड–१९ का लक्षण तथा हात धुने, भिडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्नेजस्ता रोकथामका उपायहरुबारे जानकारी छ । मोवाइल रिङ्ग टोन, टोल फ्री हटलाइन फोन, वेवपोर्टल, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिम बारेको सूचना प्रवाह गरिएको छ ।

केस व्यवस्थापनका लागि आवश्यक पिपिई सहितका सामग्रीहरु उपलब्ध छन् । मास्क, सेनिटाइजर लगायत आधारभूत स्वास्थ्य उपकरणको उपलब्धता छ ।

पहिले परम्परागत औषधि आदिका बारेमा द्विविधा थियो, अहिले हाम्रा जडिबुटी र परम्परागत वस्तुहरुको प्रयोगबाट आफू निको भएको भनेर कतिपय संक्रमितहरुका अनुभव पनि सुन्न थालिएको छ ।

दिदी–बहिनी दाजुभाइहरु,
– गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो । केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने थिए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।

– विगत तीन बर्षदेखि हाम्रो अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको थियो । मानव विकास सूचकांक, व्यवसाय गर्ने सहज वातावरण, भोकमरीको अवस्था, शान्ति–सुब्यवस्था तथा कानूनी शासन, भ्रष्टाचार निवारण, पर्यटकीय प्रतिस्पर्धा, लैंगिक समानता, विद्यालय शिक्षा, बालबालिका र स्वास्थ्यजस्ता विश्वव्यापी १४ विभिन्न सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको पनि थियो । तर दुःखको कुरा अहिले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको छ, तर हामी यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने छौं ।

– सरकारले कोभिड–१९ बाट प्रभावित उद्योगरव्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरु अघि सारेको छ । कर सहुलियत देखि बैक ब्याज एवं विद्युत महसूल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भएका छन् । अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योग समेतलाई समेट्नेगरी पुनरकर्जा कोषको व्यवस्था गरिएको छ । यसबाट २ खर्बभन्दा बढी लगानी परिचालन हुनेछ ।

– झण्डै ६ महिना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजूद आर्थिक बृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक छन्, यो हाम्रा लागि सुखद पक्ष हो ।

कोभिडको महामारी पछि विश्वका धेरै मुलुकमा आर्थिक बृद्धिदर नकारात्मक हुँदा पनि हाम्रो आर्थिक बृद्धिदर सकारात्मक नै रहेको छ ।

कोभिडका कारण राजस्व र खर्चको अवस्थामा असर परेपनि समग्र सरकारी वित्त स्थिति सन्तुलनमा नै छ । राजस्व प्रणालीमा दूरगामी महत्व राख्ने सुधार भएका छन् ।

मूल्य वृद्धि नियन्त्रणमा नै छ । सरकारले बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर गराई रहेको छ । इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधी लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी हुन दिएको छैन । हाल सरकारी र निजी क्षेत्रमा खाद्य पदार्थको मौज्दात पर्याप्त छ ।

वैदेशिक व्यापार घाटा सुधारोन्मुख छ । वर्तमान बन्दाबन्दीको अवस्थामा पनि विप्रेषण आप्रवाहमा निरन्तरता छ । यस अवधिमा मासिक औसतभन्दा बढी नै विप्रेषण आप्रवाह भएको छ । जेठ, असार र साउन–पछिल्ला यी तीन महिनामा करिब २८७ अर्ब रुपैँया विप्रेषण आप्रवाह भएको छ ।

गत वर्षभरिमा शोधनान्तर स्थिति रू. २८२ अर्बले वचतमा रहेको छ । कूल विदेशी बिनिमय सञ्चिति रू. १ हजार ४०१ अर्ब पुगेको छ ।

कोभिडले ल्याएको विश्वव्यापी आर्थिक संकटका बावजूद पनि दातृ निकायको सहयोग बढिरहेको छ । यस अवधिमा १६८ अर्ब रुपैँया बजेटरी सहायतासहित कूल ५ खर्ब रुपैँया बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ । यस २ वर्षको अवधिमा रू.२ खर्बभन्दा बढीको बाह्य लगानी स्वीकृत भइसकेको छ भने रू. १४ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता पनि प्राप्त भएको छ ।

बैकिङ्ग तथा वित्तीय क्षेत्रमा स्थायित्व कायम छ । बैक सेवामा उल्लेख्य विस्तार भएको छ । निजी क्षेत्रका लगानीका लागि बैकिङ्ग क्षेत्रमा करिब रु. २०० अर्ब थप तरलता उपलब्ध छ । बैकिङ्ग क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे छ । उद्योगरव्यवसायहरु निर्बाधरुपमा सञ्चालनमा आउँदा सिर्जना हुने कर्जा मागलाई सम्बोधन गर्न बैंकहरु सक्षम छन् । बीमा तथा पूँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको छ ।

– लकडाउनमा पनि विकास निर्माणलाई यथासक्य निरन्तरता दिइएको छ । यस अवधिमा १७८ किमी सडकलाई कालोपत्रे गरिएको छ । ८९ मोटरेवल पुल निर्माण भएका छन् । भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएका छन् ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
– यसबर्षको जेठ २४ गते हाम्रो संसदले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सन्दर्भमा सर्वसम्मत निर्णय गरेको छ । हाम्रो निशान छाप संशोधनमार्फत संविधानले सर्वस्वीकार्यता हासिल गरेको छ । सिङ्गो राष्ट्र एक भएको त्यस दिनलाई इतिहासमा बिरलै हुने अविस्मरणीय दिनका रुपमा स्मरण गरिनेछ । म संघीय संसदका सम्पूर्ण माननीय सदस्यहरुलाई धन्यवाद भन्न चाहन्छु । सम्पूर्ण देशबासी दाजुभाइ दिदीबहिनीहरुलाई बधाई ज्ञापन गर्दै त्यस ऐतिहासिक क्षणको म गर्वका साथ स्मरण गर्न चाहन्छु ।

– मैले सरकारको नेतृत्व सम्हालेदेखि नै कसैकसैले म, यो सरकार र सत्तारुढ दलको लोकतन्त्रप्रतिको निष्ठाका बारेमा गरिने आशंका वा भ्रम सिर्जना गर्ने प्रयासबाट विस्मित हुने गरको छु । मैले भन्दै आएको छु– लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पर्छ । तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन । लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प हो र यो विधिको शासन हो । यो मर्यादित र अनुशासित प्रणाली हो ।

– स्वतन्त्र प्रेस लोकतन्त्रको अभिव्यक्ति हो । यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ, लोकतान्त्रिक संस्कार, व्यवहार र अभ्यासलाई बलियो बनाउँछ । हाम्रा आम सञ्चारका माध्यमहरुले पनि ‘तथ्यको आधारमा सत्य पस्किने र समाजलाई सुसूचित गर्ने’ दायित्व बहन गरी आफूलाई ‘व्यावसायिक पत्रकारिता’को तहमा उठी जनताको सही सूचना प्राप्त गर्ने हकको रक्षा गर्न प्रतिवद्ध र सफल हुनु पर्दछ भन्ने म ठान्दछु । हिजो नियन्त्रित र कमजोर अवस्थामा पनि अग्रगामी आन्दोलनमा योगदान पु¥याउने सञ्चार माध्यम र वौद्धिक जगतले आज बाटो अल्मलिन मिल्दैन । अझ स्पष्ट र सुदृढ योगदानको अपेक्षा नेपाली जनताले गरेको मैले पाएको छु ।

– संकटको बेला, अझ मानिसको मन दुःखेको बेला हल्लाहरुले जनमतलाई प्रदूषित गर्ने जोखिम हुन्छ । विगत एक बर्षयता हाम्रो लोकतन्त्र, गणतन्त्र र संघीयताका बारेमा कहिले मन्द त कहिले प्रष्ट सुनिनेगरी प्रश्न उठेको मैले सुनेको छु । मैले विगतका सम्बोधनमा पनि भनेको थिएँ– जब राष्ट्रले निर्णय लिन्छ, त्यहाँ अलमल होइन, प्रतिबद्धता हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो । अब यसलाई इमान्दारीपूर्वक सवल बनाउन लाग्नु हामी सबै नेपालीको कर्तब्य हो ।

– यस बीचमा नेपालको राजनीतिमा अस्थिरता ल्याउने योजनाबद्ध प्रयासहरु पनि तीब्रताका साथ भए । ती प्रयासलाई परास्त गरेर हामी नेपालीले फेरि स्थिरता र स्थायित्वलाई सुनिश्चित गरेका छौं ।

– पोहोर साल यो संविधान र व्यवस्थाको मात्रै होइन, राष्ट्रिय अखण्डताकै विकल्प खोज्छु भन्ने शक्ति निःशर्त राजनीतिक मूलधारमा समावेश भयो । मैले गत बर्ष पनि संविधानका कुनै धारा र दफाहरुले कहीँकतै हाम्रो अधिकार ओझेल पारे भन्ने बुझाइमा कोही भए औचित्य र आवश्यकताको आधारमा समयक्रममा सच्याइन्छ भनेकै थिएँ । गैरसंवैधानिक गतिविधि त्यागी राष्ट्रिय मूलधारमा समावेश हुन र हाम्रो संविधानले दिएको अधिकार उपयोग गर्न आव्हान गरेको थिएँ । निकट विगतमा सर्वसम्मतिले गरिएको संविधान संशोधनबाट त्यसको पुष्टि भएको छ । छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा म फेरि दोहो¥याउन चाहन्छु– “हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दलरसमूहहरु राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं ।” आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु ।

दाजुभाइ तथा दिदीबहिनीहरु,
– एउटा विषयमा म आज पनि थोरै चर्चा गर्न चाहन्छु । दुई बर्षअघि यसै समारोहलाई सम्बोधन गर्दै मैले भनेको थिएँ– विकासका सन्दर्भमा देखिएको एक प्रकारको अलमल “भइहाल्छ नि” भन्दै सुस्तरी चल्ने वा “गरिहाल्लान् नि” भन्दै चल्दै नचल्नेहरु र जनआकांक्षा अनुरुप ‘शीघ्र विकासको लागि तीब्र गतिमा दौडिन खोज्ने’हरु बीचको बेमेल हो । यो बेमेल अन्त्य गर्न बाँकी नै छ । तसर्थः फेरि एकपटक जोड दिन चाहन्छु– ‘भइहाल्छ नि’ वा ‘गरिहाल्लान् नि’ भन्ने सुविधा हामीलाई छैन । हामीले प्रतिवद्धतालाई परिणतिमा बदल्नै पर्दछ । सरकारमा हाम्रो उपस्थिति ‘तीब्र गति र शीघ्र विकास’को जनआकांक्षा पूरा गर्नका लागि हो । त्यस कुरालाई हामीले हेक्कामा राखेका छौं ।

– हामी सबैलाई थाहा छ, समग्र प्रणाली परिवर्तनको अभियानमा हाम्रो कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण संयन्त्रहरु बाधक बनेनन् । प्रश्न उठ्छ– यति ठूलो परिवर्तनमा सहयोगी मात्रै होइन, सहभागी हुने कर्मचारीतन्त्रलाई ‘तीब्र गतिमा, शीघ्र विकास’को बाहक बन्न कुनचाँहि तत्वले अवरोध खडा गरिरहेको छ ? के त्यो तत्व भइरहेको विकास र प्रगतिलाई समेत अस्वीकार गर्ने अस्वस्थ राजनीति नै हो त ? या यति ठूलो परिवर्तनको नेतृत्व गर्नसक्ने राजनीतिक नेतृत्व मण्डल उपलब्धिको व्यवस्थापन गर्न र प्रणाली विकासमा नेता हुन नसकिरहेको कारणले हो ? भएन, हुँदै भएन भन्ने ‘मान्यता’ जबरजस्त प्रचारित छ, यसलाई तर्कले होइन ब्यवहार र उपलब्धिबाट हामीले जवाफ दिन सक्नु पर्दछ ।

– विकासको गतिमा सार्वजनिक खरीद ऐनजस्ता विद्यमान कानूनी प्रबन्धहरु पनि अलिक अमिल्दा छन्, समय घर्काइदिने खालका छन् । अझै पनि कतिपय कानूनी प्रबन्ध अधुरा एवं अस्पष्ट रहनाले पूर्वाधार विकासको कामलाई नराम्रो गरी अल्झाएको छ । अब यसमा यथोचित परिवर्तन गरिन्छ ।

– हामी सबैलाई यो पनि थाहा छ, विकासका योजना, त्यसका लागि आवश्यक स्रोत र त्यसको उपलब्धताको बीचमा ठूलो खाडल छ । केही दशकअघि आजका विकसित मुलुकहरुको हालत पनि हाम्रैजस्तो थियो । उनीहरुले विकासका लागि आवश्यक स्रोत र साधन प्राप्तिको लागि उपलब्ध हुने कुनै पनि संभावनालाई उम्किन दिएनन् । ‘रङ्ग होइन परिणाम’मा उनीहरुले जोड दिए ।

– सोचौं, हामीचाँहि किन ‘मुसा मार्ने’ बिरालो ‘कालो वा सेतै’ खोजिरहेका छौं ? अब हामी सबै प्रकारका संकीर्णता र आग्रह पूर्वाग्रह छोडौं र विकास र उन्नतिको बाटोमा एकताबद्ध भई अघि बढौं ।

– सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त हो । अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ । राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबिरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको विगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।

– लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो संघर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताका बिरुद्ध नेपाली जनतालाई परिचालित ग¥यौं । ढाल्नु पर्ने र फाल्नु पर्ने सत्ताको रुपमा हामीले बिरोधको निशाना बनाएको राज्य ब्यवस्था, संविधानसभाद्वारा संविधान जारी भएसँगै समाप्त भयो । हामी अहिले जनताद्वारा, जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन गरिरहेका छौं । प्रश्न उठ्छ– आफैंले, आफ्ना लागि बनाएको यो ‘राज्य प्रणाली’मा खाल्डारखुल्डी भए सम्याउन सकिन्छ । तर यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका बिरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित हुनै सक्दैन ।

दिदीबहिनी तथा दाजुभाइहरु,
– मलाई विश्वास छ, महामारीको जोखिम कम हुनासाथ हाम्रो अर्थतन्त्र पुरानै लयमा फर्किने छ । अर्थतन्त्रका अन्य सूचक दुरुस्त रहेको यस अवस्थामा पर्यटन लगायतका सेवा क्षेत्र सञ्चालन हुनासाथ आर्थिक बृद्धिले अपेक्षा गरेकै दरमा प्रगति गर्नेछ । यो महामारी अस्थायी परिघटना मात्रै हो । यसको अन्त्यसँगै मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुने दिशामा अघि बढ्ने छ ।

छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा फेरि एकपटक सबैमा हार्दिक शुभकामना ।
धन्यवाद ।