कोरोना खोप परीक्षणका क्रममा ब्राजिलमा एक जनाको मृत्यु

कात्तिक ६, काठमाडौं ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को खोप परीक्षणको क्रममा एक जनाको मृत्यु भएको बताएको छ । मन्त्रालयका अनुसार खोपको क्लिनिकल ट्रायलका क्रममा एक ‘स्वयंसेवी’को मृत्यु भएको हो ।

बुधबार मन्त्रायले यो कुरा सार्वजनिक गरेको हो । उनको मृत्यु पश्चात पनि खोपको परीक्षण चलिरहने बताइएको छ ।

ब्राजिलमा अक्सफोर्डले बनाएको कोरोना विरुद्धको खोपको ट्रायल चलिरहेको छ । एस्ट्राजेनिकाले यो खोप ठूलो परिमाणमा उत्पादन गर्ने बताइरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले अक्सफोर्डलाई उद्धृत गर्दैै परीक्षणलाई निरन्तरता दिइने र क्लिनिकल ट्रायललाई लिएर खासै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

कम्पनी एस्ट्रोजेनिकाले भने कुनै टिप्पणी गरेको छैन ।

रोयटर्सले एक समाचार सूत्रको भनाइ राख्दै ती मृतकलाई कोभिड नभइ मेनेन्जाइटिसको खोप दिइएको बताएको छ । उनलाई कोभिडको सुई लगाएको भए उनको ज्यान बच्ने ती स्रोतको भनाइ छ ।

ब्राजिलमा यो तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ । प्राप्त जानकारी अनुसार मृतक रियो दि जेनेरियोका बासिन्दा थिए । उनको उमेर २८ वर्ष थियो ।

हाल ब्राजिलका ६ सहरका झन्डै आठ हजार स्वयंसेवक पहिचान भइसकेको छ र उनीहरूलाई खोपको पहिलो डोज दिइसकिएको छ । कतिपयले पुरै डोज लिइसकेको पनि बताइएको छ ।
ब्राजिल सरकारले अक्सफोर्डले बनाएको खोप खरिद गर्ने योजना रहेको बताएको छ । यस्ता खोप रियो दि जेनेरियोस्थित फियोक्रुज बायोमेडिकल रिसर्च सेन्टरमा ठूलो मात्रामा उत्पादन हुनेछ ।