मलाई स्पाइनल इजुरी भएपछि..

तनहुँको सागें भन्ने ठाउँमा २०३५ सालमा म जन्मिएँ । जन्मिँदा सबै ठिकै भए पनि जीवनमा यस्तो दुर्घटना भयो जसबाट म ह्वीलचियरमा सीमित भएँ ।

२०६६ सालको फाल्गुन ५ गते भएको बस दुर्घटनामा परी मेरो मेरुदण्डमा चोट लाग्यो । जब दुर्घटना भयो मसँग ३ वर्षकी छोरी, श्रीमती, दुर्गम बस्तीमा गाउँको पुरानो घर थियो । न कुनै सरकारी जागिर न त कुनै अन्य आयश्रोत ।

जब अस्पतालबाट उपचार हुन्न भनी घाँटी भन्दा मुनि नचल्ने शरीर लिएर घर फर्केँ आजसम्म कसैबाट १ पैसा वा आवश्यक पर्ने कुनै साधन सहयोग लिएको पनि छैन । मागेको पनि छैन । त्यस पछिका दिन मैले ओछ्यानमा नै श्रीमतीको साहारामा पीडा सहेर बिताइ रहेको छु ।

मलाई ओछ्यानबाट ह्वीलचेयरमा सार्न २ जना आवश्यक हुन्छन् । यस्तो अवस्थामा पनि कुनै सामाजिक र सरकारी पक्षबाट कुनै सहयोग नपाएकोमा साह्रै दुखी छु ।

पारिवारिक बोझ आर्थिक र आन्तरिक समस्या धेरै हुन्छन् । दैनिक औषधि र बाँच्न आवश्यक सामग्रीको खाँचो परिरहन्छ ।

मजस्तै चोट भएका केही साथीसँग कुरा हुन्छ । चोटको तह अनुसार पीडा र दैनिक जीवनमा हुने सजिलो र असजिलो विषयमा कुरा हुन्छ । तिनै कुरा र आफ्नो भोगाइ तपाईँहरू माझ पुर्याउन यो लेखेको हुँ ।

यो समस्याको उपचार मेडिकल साइन्समा छैन । चोट परिसकेपछि सामाजिक सद्भाव माया र राष्ट्रको दायित्व अति आवश्कय छ ।

मेरुदण्डको चोट कसैले जानीजानी निम्त्याउने समस्या होइन । कहिले कसलाई हुन सक्छ कसैले भन्न सक्दैन । तर आफैलाई यस्तो आइपर्दा मन बुझाउन सकस हुने रहेछ ।

नसोचेको पारिवारिक र सामाजिक समस्या पनि हुन्छ । त्यसैले यो विषयलाई सबैले गम्भीर भएर मनन गर्नु आवश्यक छ ।

मलाई मेरो परवाह छैन । मेरो पहल ती अन्य मेरुदण्डमा चोट लागेका साथीहरूको लागि हो, जसलाई मभन्दा पनि धेरै समस्या छ ।

राज्यको नीति स्थानीय तह देखि नै अपाङ्गताको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने बनाउनु पर्दछ । हरेक स्थानीय तहमा अपाङ्गताको आधारमा रोजगारी सिर्जना गर्नुपर्छ ।

सम्भव भएसम्म बौद्धिक खुबी भएको पुर्णअपाङ्ग व्यक्ति वा अपाङ्गको पीडा बुझ्न सक्ने बौद्धिक खुबी भएको अपाङ्ग ब्यक्ति एक जना अनिवार्य रुपमा सम्मिलित गराउनु पर्दछ । साथै प्रतिनिधि सभामा आफ्नो शारीरिक अवस्थाको कारण आफ्नै दिसा–पिसाबमा गडेर समय बिताउँदाको अनुभव भएको व्यक्तिको प्रतिनिधित्व हुनुपर्छ ।

अपाङ्ग भएर अपाङ्गको कोटाको पदमा बस्ने तर अपाङ्गको आवश्यकता पूर्तिका लागि पहल नगर्ने र बस्ती बस्तीमा सेवा सुविधा पुर्याउन नसक्नेलाई पदमा राखिरहनु हुन्न ।

अपाङ्गसँग सम्बन्धित आधिकारिक संस्थामा रहेको व्यक्तिको अभिव्यक्ती कस्तो हुनुपर्छ भन्ने ज्ञान नहुनेले पदको दायित्वबाट अलग्गै बस्नुपर्छ ।

अपाङ्गता कुन अवस्थाको छ, त्यसको आधारमा गर्न सक्ने कामको व्यवस्था, आवास सहितको सुविधा सरकारी तहबाट हुनुपर्छ । काम र आवासको व्यवस्था सामुहिक रुपमा हुनुपर्छ ।

काम गर्न नसक्नेको पनि आर्थिक अबस्था हेरी सबैलाइ अनिबार्य आवासको व्यवस्था सरकारले गर्नुपर्छ । आवासमा बस्न नचाहनेको लागि भने सरकारले सबै व्यवस्था मिलाउन बाध्य हुन नपर्ने नियम हुनुपर्छ ।