अपांगताको कठिन परिभाषा

हाम्रो शरिरमा दुई किसिमका अङ्ग छन् । स्वाधीन र अरु कसैको अधिनमा रहने ।

आध्यात्मिक आधारमा मानवीय शरीर भौतिक शरीर हो भने आत्मा चलायमान छ । शरीरमा जहिलेसम्म आत्माले वास गर्दछ, तबसम्म शरीरमा पर्ने हरेक कुराको प्रत्याभूति आत्माले गर्दछ र शरीरमा त्यसको प्रतिक्रिया देखिन्छ ।

जब आत्माले शरीरलाई परित्याग गर्छ त्यसपछि शरीरको कुनै अर्थ रहदैँन । यो केवल मुढोसरह हुन जान्छ ।

अहिलेसम्म अपाङ्गताको परिभाषा आधारहीन छ । गहिरिएर सोच्दा अन्योल लाग्छ । वैज्ञानिक आधारले सोच्दा झन् केही तथ्य भेटिँदैन ।

शरीर केवल टुक्राटुक्रा जोडिएको मेसिन जस्तो तर सजीव प्राण ! कहिँ केही क्षती भयो भने आफै पुनः मर्मत हुनुपर्ने ! कुनै भाग आवश्यक पर्दा फेर्न वा परिवर्तन गर्नु पर्ने अङ्ग उत्पादन गर्ने विकल्प नै छैन ।

सत्य हो, प्रकृतीको देन हेरफेर हुदैँन । केवल नक्कल गरिन्छ । सायद त्यसकै नाम हो विज्ञान । यसैले गर्छ, आविष्कार ।

तर नयाँ अंग बनाउन पनि पुरै सम्भव छैन । यिनै माथिका दुई कुरालाइ आधार मान्दा अपाङ्ग शब्दको परिभाषा यथार्थमा कसरी व्यक्त गर्न उपयुक्त हुन्छ भनी खोज गर्दा सत्य र यथार्थ नलुकाउने हो भने साधारणतया मानिसको जीवनमा हुने सामान्य अबस्था भन्दा फरक किसिमले शरीरको कुनै पनि अङ्गमा जन्मजातै वा जीवन जिउँदा देखापर्ने दिर्घकालिन वा अल्पकालिन कमजोरी वा असहज अवस्थालाई बुझ्नुपर्दछ ।

यी क्षण सामान्यदेखि भयंकर जटिल अवस्थासम्मको हुनसक्छ । हरेक अशक्तपनको पीडा आफूमा साह्रै नै पीडादायी हुन्छ । यो अवस्था भोगेका पीडितको भोगाइबाट जटिलताको अवस्था, समस्या, अनुभव र आवश्यकतालाई आधार मानी अपाङ्गताको तह निर्धारण गरी सरकारी स्तरमै यस विषयको दीर्घकालीन कार्ययोजना बनाउन आवश्यक छ ।

अपाङ्गताको विषयमा अहिलेसम्म गरिएको वर्गीकरण रचनात्मक (युद्ध) द्वन्दको निम्तो जस्तो देखिन्छ । जब सामासिक व्यवहारमा जात र वर्गको कुरा आउँछ त्यहाँ अमेलको वातावरण सिर्जना हुन्छ । जहाँ हरेक कुरामा गुणको बोध गराउन सकिन्छ त्यहाँ यथार्थको महसुस हुन्छ ।

अपाङ्गता भएका सबैलाइ एकै रुपले नहेरी किन जात जस्तो बनाइएको छ ? अपाङ्गताको अवस्थालाई जात र वर्ग जस्तो बनाउनु हुदैँन । यसको ज्ञान गराउने अवस्थाको गुणको बोध गराउनु पर्छ । भौतिक होइन शारीरिक गुणको आधारमा मानव शरीरको कमजोर क्षेत्र भाग वा स्थान विशेषको सम्बोधन गर्नुपर्छ र कमजोरीपनको आधारमा शारीरिक अशक्त अवस्थाको तह हेरिनुपर्छ ।

निकै विवेकशील, व्यवहारीक, अनुभवी र सहृदयी भावनामा प्रेरित भै छुट्याउनु पर्छ ।

पहिलो श्रेणी : कुनै चेतना नहुने र आफै खाना पनि खान नसक्ने !

दोस्रो श्रेणी : दुबै हात नचल्ने, खुट्टाले काम गर्ने, दुवै खुट्टा नचल्ने हातले काम गर्ने, मानसिक बौद्धिक अर्धचेत भएका, दुबै आँखा पुर्णरुपले नदेख्ने, दिसापिसाब थाहा नहुने !

तेश्रो श्रेणी : पुरै कान नसुन्ने, बोल्न नसक्ने, एक हात नहुने, एक खुट्टा नहुने !

चौथो श्रेणी : अरु बाँकि रहेका सबै किसिमका अपाङ्गता भएका व्यक्ति !

सामान्यतया यो मेरो एक्लो सोच र विवेकले छुट्याउँदा यसलाई अझ ४–५ जनाको विवेकशील समुह बसी मूल्यांकन गर्नुपर्छ ।

अब अझ एउटा कुरा, माथी मेरो विचारले कमजोर अवस्थालाई अपाङ्गता भनेँ । तर त्यसको बारेमा पनि प्रस्ट पार्नुपर्छ । राज्यमा नागरिकको हकको आधारमा सेवा, सुविधा, अधिकार र कर्तव्यको विषयलाइ विवाद नहुनेगरी प्रस्ट बनाउनु पर्छ ।