हास्य कलाकार भारती र उनका श्रीमान प्रहरी नियन्त्रणमा

मंसिर ८, काठमाडौं ।
टेलिभिजन प्रसारणका लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागु औषध केसमा गिरफ्तार गरेर मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का अधिकारीहरूलाई उदृत गर्दै भारती सिंह र उनका श्रीमान् माथि गाँजा सेवन गरेको मामिला रहेको भारतीय मिडिया रिपोर्टमा उल्लेख छ ।

लागुऔषधसम्बन्धी आरोपमा भारतीय हास्यकलाकार भारती सिंहलाई गिरफ्तार गरिएको एक दिन पछि उनका श्रीमान् हर्ष लिम्बाचिया पनि आइतवार पक्राउ परेका थिए ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान् हर्षलाई आइतवार गिरफ्तार गरिएको समाचार संस्था पीटीआईसँग पुष्टि गरे ।

उनीहरूको घरबाट लागुऔषध गाँजा बरामद गरिएको एनसीबीका अधिकारीहरूले बताएका छन् । यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँजा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उनलाई पक्राउ गरेका थिए ।

एनसीबीका अधिकारीहरूका अनुसार भारती सिंह र उनका श्रीमान्माथि गाँजा राखेको आरोप छ । एनसीबीले भारती सिंहको घरमा ८६.५ ग्राम लागुऔषध फेला पारिएको बताएको छ । उनका श्रीमान् हर्ष लिम्बाचिया पटकथा लेखक हुन् ।

रीयालिटी सो इन्डियाज बेस्ट डान्सर कार्यक्रम चलाउने यी दम्पतीलाई सोधपुछका लागि भन्दै पक्राउ गरिएको विवरणहरूमा जनाइएको छ । अधिकारीहरूका अनुसार मनोरञ्जन उद्योगमा हुने भनिएको अवैध लागुऔषधको प्रयोग बारेको अनुसन्धान अन्तर्गत नै यी दम्पतीको घरमा छापा मारिएको हो ।

गत जुन महिनामा मृत्यु भएका बलिवूड नायक सुशान्त सिंह राजपूतसँग सम्बन्धित घटनाबारे अनुसन्धान भइरहँदा थुप्रै कलाकारमाथि यसअघि पनि एनसीबीले सोधपुछ गरिसकेको छ ।

चौँतीस वर्षीय राजपूत गत जुन १४ तारिखमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा फेला परेका थिए ।