‘भूपि पुरस्कार’का लागि कृति आह्वान

मंसिर ९, बाग्लुङ ।
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

पुरस्कारको राशि रु २५ हजार छ । आउँदो पुस १० गते भूपि जयन्तीका अवसरमा पुरस्कार समर्पण गरिने छ । कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका विवेचनात्मक कृतिले पुरस्कारको मूल्याङ्कन प्रक्रियामा प्राथमिकता पाउने अध्यक्ष रोशनले बताए ।

अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’का लागि विसं २०७५ को ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले प्राप्त गरेकी थिइन् । दोस्रो पुरस्कार संस्थागततर्फ गत वर्ष थकाली समाज बुटवलले पाएको थियो ।

समाज भूपिको स्मृतिमा प्रवेशद्वार, शालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रवद्र्धनमा सक्रिय छ । भूपि जयन्तीकै अवसरमा प्रतिष्ठानले ‘धवलागिरि साहित्य सम्मान’समेत प्रदान गर्दै आएको छ ।

यो वर्षपदेखि ‘काजी रोशन युवा पुरस्कार’समेत प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष रोशनले जानकारी दिए ।

विसं २०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म रु सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । विसं १९९० पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्यको विशिष्ट प्रतिभा मनिन्छन् । (रासस)