तारा दिदी ! भेट्न आतुर छु

किरण पौड्याल
अहिले सम्झिँदा त्यतिबेला द्वन्द्वकाल रहेछ । घरमा सिकाइएको हुन्थ्यो – “बुबाआमा सोध्दै आए, छैनन् भन्नु है ।” कतै हिँड्नुअघि बुबाआमाले अनिवार्य साउती मारेको हुन्थ्यो । फेरि, सँगसँगै अर्को वाचा बँधाएको हुन्थ्यो। “त्यो भाइ सानै छ, जान्दैन, तँ आफैँले बुझ्नु, ठूलो झोला बोकेको मान्छे आएमा देखा नपर्नु, लुक्नु ।” गाउँको घर, बाआमा अनि हामी दुई भाइ ।

काम नगरी खान नपुग्ने । समय त्यस्तो । माओवादी आए भने के होला मनमा सधैँ पथ्र्यो । खुसीको कुरा स्कुल जानु पर्दैन थियो । बन्दको बन्द । हाम्रो मगजमा काल्पनिक माओवादीका ‘स्केच’ कोरिएको हुन्थ्यो ।

दुई÷तीन जना उमेर पुगेका मान्छे । पछाडि झोला बोकेर बा–आमा भन्दै आए माओवादी सम्झन्थ्यौँ हामी । फाट्टफुट्ट देखे पनि खासै याद गरिँदैनथ्यो । माओवादी भन्ने शब्द यस्तो हाउगुजी बन्थ्यो । भाइ बहिनी रोए माओवादी देखाइदिन्छु । नयाँ मान्छे आए, उ माओवादी । गाउँमा नयाँ मान्छे देखापर्यो माओवादी । करिबकरिब हामीलाई माओवादी छापामार बाहेक केही होइन लाग्थ्यो । टिभी हेर्दा र रेडियो सुन्दा मरेको÷ मारेको बाहेक अरू खबर थिएनन् । यसरी माओवादीप्रतिको सोच नै भिन्न थियो हाम्रो ।

आतङ्कवादी बाहेक केही देख्दैनथ्यो, हाम्रा आँखाले । तर, विस्तारै परिस्थिति बदलियो । हामीले कल्पना गरेका मान्छे घरमै देखिन थाले ।कुराकानी गर्न थाले ।

गाउँकै दाजुहरू लागेपछि नयाँ मान्छे होइन रहेछ भन्ने सम्म कल्पना गरे । तर, मान्छे चिने, कुरा बुझिनँ । राजाको विरोध गर्ने बाहेक अरु कुरा केही हुँदैनथ्यो । आफूलाई त्यसबारे खासै थाहा थिएन । दिमागले राजा ठीक भन्दा पनि माओवादी बेठिक भन्ने मात्र सम्झन्थ्यो । तर, नसोचेको भयो । राजा फ्याँकिए । शान्ति सम्झौता भयो । माओवादीहरू नै सत्तामा आए । हाम्रो सोच बदलियो । कक्षा उक्लिँदै ११ पुगिएछ । पढ्न बाहेक अरुतिर ध्यान थिएन । सानो उमेरमा सोच पनि सानै हुँदो रहेछ ।

उमेर पुगेका, दाह्री कपाल पालेका मान्छे मात्रै माओवादी भन्ने सोच थियो हाम्रो । हेर्दै डर लाग्दा, अनि भेट्दै डर लाग्दा मान्छे माओवादी कल्पिन्थ्यौँ हामी । अलिअलि पढेका दाजु दिदी पनि सँगै हिड्नु पर्ने भएकाले माओवादीप्रति सकारात्मक सोच कहिल्यै आएन त्यतिबेला । यसरी नै बित्दै गयो दिन । कुरा कक्षा ११ कै हो । एउटा पुस्तकको बारेमा सुन्न पाएँ । मसँगै बस्ने तल्लो कोठाको दाइले पढेको कुरा गर्नुभयो । किताब हो – ‘छापामार युवतीको डायरी’ । मैले पढ्न पाइनँ । दाइले सबै किताब मलाई दिनुहुन्थ्यो । त्यो दिनु भएन । छापामार भन्ने बित्तिकै सुन्नै अल्छी लाग्ने मलाई चासो पनि लिइनँ । समय बित्दै गयो ।

कल्पनाका माओवादी, अनि तारा दिदी


कुरा दुई वर्षअघिको हो । एकदिन घाम ताप्दै आङ्गनमा बसेको बेला भारद्धाज सर (यादव भारद्धाज) आउनु भएछ । कुरा गर्दैगर्दा राजनीतिक गर्न पुगियो । कुरा गर्दै जाँदा धर्मशीला दिदीको कुरा आयो । सँगसँगै कुरा आयो मैले नपढेको त्यो पुस्तककी लेखिकाको । छापामार युवतीको डायरीकी लेखिका तारा राई हुन् भन्ने बुढाले भन्दासम्म मैले खासै वास्तै गरिनँ । किताब कति हुन्छन् चासै लिइनँ । तर इलामकै मान्छेको पुस्तक हो भनेपछि भने चासो बढ्यो ।

अलिअलि समाचार खेती गर्ने मान्छे भएर होला, केही हुन्छ कि जस्तो लाग्यो । चासो बढ्यो । पुस्तक पढ्ने सोच बनाएँ । मेरो पुस्तक ल्याउने सधँैकै ठाउँ ‘अमेरिकी कर्नर’ पुगेँ । पुस्तक हेरेँ, रहेछ । एकचोटी त खुसी लाग्यो । घर ल्याएर पढ्न थाल्यो । जति पढ्दै गयो त्यति चासो बढ्दै गयो । मैले सानो उमेरमा कल्पना गरेका माओवादी मनमा आउँदै गयो ।

पूर्णरूपमा भेद् भेटियो । पुस्तकको बीचसम्म पुग्दा म अक्क न वक्क परेँ । मलाइ सुनाइएका माओवादीका कथा र ती लेखिकाबीच आकाश पतालको भिन्नता थियो । पुस्तककी लेखिका तारा राई इलामकै पञ्चकन्याकी रहेछिन् । १५ वर्षको उमेरमा आफू खुसी समाज परिवर्तनका लागि लडाकु बनेकी रहेछिन् ।

पढ्दा अचम्म अनि कल्पनाभन्दा बाहिरको कुरा । कसरी यस्तो भयो । मैले पुस्तकको कभर हेरेँ । ताराको जन्म २०४७ सालमा भएको रहेछ । मभन्दा पाँच वर्ष जेठी । उमेरले पाँच वर्ष तर सोचाइले साह्रै धेरै जेठी । मैले त्यो समयमा कल्पना गरेका माओवादीकी सहयोद्धा रहेछिन् तारा । देश परिवर्तन गर्न, मर्न र मार्न बन्दुक बोकेकी रहेछिन् । पुस्तकमा भेटियो, उनले साह्रै दुःख पाएकी रहेछिन् ।

कक्षा ७ मा पढ्दै गर्दा समाज परिवर्तनका लागि रोगी शरीर द्वन्द्वमा घिस्य्राएकी रहेछिन् । अचम्म, बहुत अचम्म । एउटा कलिलो बच्चा, त्यसमा पनि मुटुको विरामी ।

कसरी गर्न सक्छ, त्यो सङ्घर्ष ? पुस्तकमा तारा आफँै बोलेकी थिइन् तर मैले आफू सम्झेर पढेँ । म उनीसँग आफू तुलना गरेँ । वन्दुक मात्र कहाँ बोकेको हो र ? तत्कालीन राज्य पक्षले पक्राउ पनि गरेको । आँखामा पट्टी बाँधेर सारा जङ्गल घुमाउँदा पनि हरेश नखाएको । मैले आफूलाई कल्पना गरेँ । म सानो विषयमा झगडा पर्दा घरमा बुबाले कराउनु हुन्थ्यो ।

बुबाले कराएपछि नगरेको उपद्रो पनि हो भन्नुपथ्र्यो । किनकि, म त्यति धेरै डराउँथे । तर तारा देशका लागि लड्न हिडिन् । सेनाको गाली र कुटाइ खाइन् । तर, पनि थाकिनन् । यस्ता सङ्घर्षका कथा त अनगिन्ती भेटिए पुस्तकमा ।

एकैदिनमा सकिएछ । ताराको सङ्घर्ष, तागत र हिम्मत सम्झना आयो । देख्न मन लाग्यो । मलाई दुईवटा कुराले तारा लेख्न मन लाग्यो । एउटा, उनको सङ्घर्ष उनको मुखबाटै सुन्न, अर्को पुस्तकको बारेमा धेरै कुरा सोध्न । त्यसै पनि मलाई पुस्तक लेख्ने मान्छे वृहत ज्ञान भएको जस्तो लाग्छ । त्यसमा पनि त्यो किसिमको सङ्घर्ष गरेको मान्छे देख्न साह्रै आतुर थिए । तर कसरी पत्तो थिएन ।

‘कमेन्टलाइन’ मा भेटिएकी तारा
एकदिन समाचार लेख्दालेख्दै भूतपूर्व लडाकुको लेख्न पुगियो । राम्रै स्टोरी भएकाले धेरै प्रभावकारी बन्यो । धेरै शेयर पनि भयो । मेरो स्टोरी शेयर गर्नेमा रहेछिन्, धर्मशीला दिदी । ताराको पुस्तकमा धर्मशीला दिदीको बारेमा धेरै चर्चा भएको थियो ।

केही ‘क्लु’ पाइन्छ झँै लाग्यो । यत्तिकैमा धर्मशीला दिदी (चापागाई) लाई ‘च्याट’ मा बोलाएँ । दिदी पनि बोल्नुभयो । नम्बर मागेँ, आफैँ फोन गरेँ । सामान्य कुराकानीपछि कुरा तारा तिरै ढल्कियो ।

दिदीले पनि जानेझैं बताइन् । “बिर्तामोडमा सैनिकसँग विवाह भएको छ”, दिदीले भनिन् । फोन राखियो । आफ्नो व्यस्तता त्यही हो, इलाममै भए भेट हुन्थ्यो भन्ने लाग्यो । झापा हुँदा के गर्ने गर्ने । त्यतिकैमा सुसेन्धामा लागियो । यत्तिकैमा मेरै दाइको ‘कमेन्टलाइन’ मा तारा नामको मान्छेले कमेन्ट गरेको देखेँ ।

नेपाली नाम पछाडि अनमोल थपिएको । ‘ओपन’ गरे, तिनै तारा । साह्रै खुसी लाग्यो । उनको ‘टाइमलाइन’ हेरँे । किताबमा झैँ सङ्घर्षको कुरा लेखिएको रहेछ । मैले पनि ‘च्याट बक्स’ मा पुगेर ‘म्यासेज’ छाडिहाले । लेखेँ दिदी । केहीछिनमै ‘रिप्लाइ’ आयो । हजुर भाइ ! मैले दोस्रो कुराकानीमै नम्बर मागे । ताराले सिँधै नम्बर दिइन् । के हो, कसो हो पनि नसोधी नम्बर दिएको देख्दा अचम्म लाग्यो । केही दिनपछि फेरि ताराको पुस्तक पढेँ । धेरै कुरा टिपोट गरियो । फोन थिचेँ । ताराकै नम्बरमा । मलाई तारासँग भोगाई बुझ्नु थियो । धेरैभन्दा धेरै भोगाइ ।

वास्तविकताको नजिक पुग्नु थियो । मैले सम्बोधनमा दिदी मिसाएँ । बोल्न सहज होस् भनेर । सामान्य परिचयपछि कुरा उहीँ पुग्यो । जहाँ मैले पुर्याउन चाहेको थिएँ । दिदीले आफ्नै भाइ सम्झेर धेरै कुरा भन्दिइन् । सुनेको थिएँ, तारा दिदीको पुस्तक ‘फेक’ हो । तर, दिदीको लवज अनि शब्द प्रयोग गराइ सुन्दा पुस्तक उहाँकै हो भन्नेमा विश्वस्त भएँ ।

करिब एक घण्टा फोनमा बोलिएछ । तर धेरै कुरा बुझ्न पाएँ । विगतका कुरा सुनाउँदा दिदी कतै मौन रहनुभयो । कतै बोल्न गाह्रो भयो । तर, मैले आफूले भने कल्पना गरेको कुरा पूरा गरेको थिएँ । फोनमा बोल्दैमा धेरै कुरा त भन्न सकिएन । कुनैदिन भेटमा धेरै कुरा सोध्ने छु । सङघर्षका कुरा सुन्न पाउने आशमा छु, तारा दिदी