भद्दा जन्मदिन किन ?

किरण पौड्याल
जन्मदिन अर्थात ‘वर्थडे’ । नेपाली र अंग्रेजी शब्द । दुई उस्तै र एउटै अर्थ दिने शब्द । जुन शब्दको अर्थ जो कोहीलाई थाहा छ । दुई भाषाका दुई शब्द हुन् यी । तर, अंग्रेजी हावी भएर नेपालीमा हराएको शब्द ।

यसको मतलब जन्मदिन शब्द कम प्रयोगमा आउँछ । वर्थडे शब्दले नै बजार तताएको छ । भौतिक शरीर पृथ्वी लोकमा आएको दिन । आफैमा अविस्मरणीय दिन । जन्मदिनलाई धेरै तवरबाट वर्णन गरिन्छ । वर्णनसँगै मनाइन्छ वा सेलेव्रेसन गरिन्छ ।

विशेष महत्व दिएर प्रजादेखि पण्डित, जनतादेखि नेताले सेलेव्रेसन गर्छन् । आफ्नो वर्थडे बर्षमा एक दिन मनाउन सकिन्छ । यदि आफैलाई थाहा नभएमा सामाजिक सञ्जाल आफैले सम्झाइदिन्छ । यसको मतलब, तिथि, मिति मिलाएर फेसबुक खोलिएको छ भने बर्षमा एक पटक आफैले सम्झिन सकिन्छ । वर्थडे अहिले चाड बन्छ । आफ्नो वर्थडे थाहा नपाउनेलाई पनि सामाजिक सञ्जालले भाइरल वनाइदिन्छ । यो चलन नयाँ भने होइन ।

वर्थडे परम्परादेखि मनाइ आइएको हो । सम्झौन…भगवान कृष्णको वर्थडे मनाउन रातभर जागराम वस्थे चलन छ । कृष्ण जन्माएर मात्रै मुखमा पानी हाल्ने चलन अझै छ । किनकि मध्यरातमा कृष्ण जन्मिएको विश्वास रही आएकाले त्यही समयसम्म निराहार व्रत वसिन्छ ।
यो चलन यता नेपालमा मात्र होइन, पश्चिमा मुलुकहरुमा पनि छ । विश्वकै ठूलो धर्मालम्बी भएका क्रिश्चियनहरूले पनि येशूको जन्मोत्सव मनाउँछन् । विविध तवरबाट यशू पुजिन्छ । सम्झना गरिन्छ । यही कारण पनि मानिसले वर्थडे मनाउन थालेको हुन सक्छ । अहिले नेपालमा पनि बर्थडेलाई हरेक तरिकाले मनाइन्छ । गत बर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले वर्थडे मनाउँदा हङ्गामा मच्चियो । तेह्रथुमको आठ्राई (आफ्नो जन्मघर)मा गएर वर्थडे मनाउँदा नेपालको नक्शा भएको केक काटेर तहल्कै मच्चियो । नियतवश थियो वा थिएन त्यो उनको कुरा हो तर प्रधानमन्त्री धेरै आलोचित भए ।

यसपटक फेरि प्रधानमन्त्रीले फरक तरिकाले जन्मदिन मनाए । जन्मदिनकै दिन श्रीमती राधिका शाक्यको किताव विमोचन गरिँदै थियो । बालुवाटारभित्र तामझाम थियो । खाने, हेर्ने र कुद्ने अनि नाच्नेको कमि थिएन तर त्यति बेलै खबर आयो । ‘अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदियो’ । मोवाइल हेरेर बसेको प्रधानमन्त्री खिन्न थिए (जनआस्था साप्ताहिकमा लेखिएको) अदालतले प्रधानमन्त्रीलाई वर्थडेमा सरप्राइज दिएको भन्दै कतिले कुरा गर्न भ्याए । यो कुरा प्रधानमन्त्रीमा मात्रै निहित रहेन ।

केही समयपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि वर्थडे मनाउने तयारीमा थिए । पूर्वप्रधानमन्त्रीको जन्मदिन भएकाले पनि साधारण व्यक्तिको भन्दा विशेष थियो । त्यसै दिन सर्वोच्च अदालतले उनको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग गरिदियो । माओबादी केन्द्रसँग दुई बर्षअघि एमाले पार्टी एकीकृत भएको थियो ।

संसद विघटनपछि प्रधानमन्त्री ओली, नेपाल र पुष्पकमल दाहाल तित्तरवित्तर थिए । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाललाई वर्थडेकै दिन पर्नुप¥यो । उनी आफ्ना सहयात्री प्रचण्डसँग फर्किन सकेनन् । एमाले नै हुनुप¥यो । नेपाली राजनीतिका यी वर्थडे सरप्राइज हुन् । यस्ता कयन घटना घट्छन् ।

अब कु्रा गरौ भूइमान्छेका

सबै विषयमा राजनीति घुस्नाले होला, सबैमा उदाहरण यसकै आउँछ । यहाँमा पनि सन्दर्भ मिल्न आयो र कुरा झिकियो । वर्तमान परिप्रेक्ष्यमा वर्थडेको महत्व बढिरहेको छ । यस्तो लाग्छ, वर्थडेमा सामाजिक सञ्जालमा पोष्ट नगर्ने, केक नकाट्ने अनि गिफ्ट नलाने त सामान्य मान्छे नै होइन ।
वर्थडेको दिन सबैभन्दा बढी सुनिने एउटा वाक्य हो–‘ह्याप्पी वर्थडे’ अनि अर्को वाक्य हो– ‘आज पार्टी दिने होइन’ । विहानैदेखि रेडियोमा घन्किने जन्मदिनका कार्यक्रम र सामाजिक सञ्जालमा छाएका फोटोले एउटा मानिस एकैदिनमा नाम्चेदेखि सगरमाथाको उचाइसम्मको उचाइ बढाउँछ ।
कहिल्यै नदेखेको मानिसले पनि धेरैको आँखामा जन्मदिनकै दिन पर्न आउँछ । अनि जन्मदिनको शुभकामना दिनेका पनि आ–आफ्नै तौरतरिका हुन्छन् । नजिकैको मित्र भए तीन÷चार थान फोटो र ठूलै स्क्रिप्ट प्रयोग गरेर सामाजिक सञ्जालमा पछारिन्छ ।

अनि टाढाको भए एउटा फोटो र दुई रिचा कठोर रूपमा प्रयोग गरिन्छ । अनि केही टाढाको तर वाध्यताले दिने हो भने उसको प्रोफाइलमा गएर केही शब्दले स्मरण गरिन्छ । यो चलनचल्तीको विषय हो । अझ भनौ, अहिले त अलि भिन्न तवरले पनि जन्मदिन मनाइन्छ । मिडनाइट सरप्राइजका नाममा राती नै उठाएर गिफ्ट र केक बुझाउने चलन पनि छ । अनि त्योभन्दा बेग्लै त अघिल्लै रात (१२ बजेअघि नै )एडभान्समा जन्मदिनको शुभकामना दिने चलन भित्रिएको छ ।
जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट सम्झने चलन छ । यो नौलो र खराब भने होइन । तर, यसको प्रभाव कस्तो हो भन्ने बुझ्नु आवश्यक देखिन्छ । हुन त कुनै कुराको गहिरो रूपमा वुझ्न सक्दिन ।तर,हामी यस्ता पराम्पराका कारण कता जाँदैछौ भन्ने मुख्य विषय हो । मतलब, हाम्रो देश ७८ प्रतिशत हिन्दु धर्मालम्बी बसेको देश हो । हाम्रो सभ्यता अनुसारको जन्मदिन हामी मनाउँदै छौ त भन्ने सोचनीय विषय हो ।

केही समयअघि एउटा पत्रिकामा मैले आँखा लगाएको थिए । हेडिङ थियो –‘केकसँगै काटिदै छ हाम्रो संस्कृति’ । जिज्ञासा बढ्यो, हेरे । लेखिएको थियो,‘हाम्रो जन्मदिन काट्ने दिन होइन, जोड्ने दिन हो ।’ सम्झिए, के जोडिन्छ । फेरि पत्रिका पल्टाए । लेखिएको थियो–हामी जन्मेपछि त परिवार, समाज देख्छौ । त्यसैले हामीले जोड्ने दिनका रूपमा वर्थडे मनाउनु पर्छ ।’ कुरा सही नै लाग्यो । तर, मैले मानेर के गर्नु । एक्लो वृहस्पति झुटा वाहेक अީरू केही होइन ।

अब कुरा आफ्नै

वर्थडेमा अरूलाई सम्झिने पनि प्रकार प्रकार हुँदो रहेछ । आफूलाई आवश्यक परेको बेला सामाजिक सञ्जालको भित्तामा रङ्ग्याउने, नचाहिएको बेला लाइक समेत नठोक्ने समेत हुँदो रहेछ । कुरा केही दिनअघिको हो । एक जना दाइ, कार्यकक्षमै बसेर सामाजिक सञ्जाल चलाउँदै गरेको अवश्थामा फेला पारे ।

उनीसँगै म पनि उनकै ल्यापटमा सामाजिक सञ्जाल हेर्न थाले । उनी लगातर, रफ्तारमा शुभकामना बाढ्न लागे । उनी आफूपछि कुनै ठाउँमा पदमा पुग्दामा सघाउँछ कि भनेर जन्मदिनमा सम्झेको भन्दै थिए । यसो सम्झिए । जन्मदिनको शुभकामनामा पनि राजनीति । किन यति साह्रो,घामड वन्छ मान्छे । यो त उदाहरण मात्र हो । म आफै परेको घटना पनि धेरै छन् ।

कसैको जन्मदिन पर्ने अघिल्लै दिन मोवाइलमा कल आउँछ । ‘भोलि मेरो वर्थडे हो, दुई÷चार वटा फोटो र केही शब्द हाल् नि । फेरि हालिनस् भने रिसाउँछु ।’ यति मात्र कहाँ हो र । कहिलेकाहीँ त जन्मदिनमा रिप्लाइ नदिएको भन्दै फेसबुकमा वीसका वाल डिलिट समेत गरिएको हुन्छ । आफू खासै चासो नगर्ने भएकाले होला, जन्मदिन खासै मनाइदैन । जन्मदिन थाहा हुन्छ तर चासो दिइदैन । तर, लगातार फोन र म्यासेजले आधा रातदेखि निद्रा विच्क्याउँछ ।

जन्मदिन मात्र होइन छ महिना अघि देखि नै फोन आउँछ । ‘जन्मदिन यसपटक व्यापक मनाउनु छ, आउनु है ।’ जन्मदिनमा आउनु मात्रै त परकै कुरा यसो सम्मको दुःखेसो आउँछ । ‘आजसम्म त तपाईंले एउटा वर्थडेमा वोलाउनु भएको छैन ।’ यो सुनेपछि म आफै खिन्न हुन्छु । मलाइ लाग्छ, ठूलै पाप वोकेर गौ हत्या गरेझै । तर, सम्झिन्छु ।

गाउँघरमा जन्मदिनमा जन्मोत्सव भन्दै पूजाआजा गरेको, सबैलाई सम्झिएको ।त्यो भन्दा फरक रहेछ, शहरको जिन्दगी । यसबाट हामीले हामी कति आधुनिकतामा ढल्किउ भन्ने महसुस गर्नुपर्छ । हाम्रा वर्थडे संस्कारसँगै मौलिक संस्कार रहलान् वा नरहलान्, बुझ्न्ु पर्छ । कल्पना गरौं त । हामी संस्कार र संस्कृति विना बाँच्दा कस्तो होला । तडकभडक र नक्कलले हामीलाई कहाँ पु¥याउँला ?

(लेखक इलाम जिल्लाका सक्रिय पत्रकार हुन्)