तड्पिएका मनका नबुझिएको हाँसो

किरण पौड्याल
आइतबार दिउँसो मेरा परम् मित्र विपुल अधिकारीको याद आयो । सानो काम परेकाले फोन हाने । आधाआधी कल गएपछि सम्पर्कविच्छेद गरिदिए । ‘सोचे, बा, अफिसमा छन् कि,…. गर्दिन ।’
सम्पर्कविच्छेद भएको केही समयपछि मित्रले फोन हाने । हेरे, एनसीएल नम्बर रहेछ ।

सम्झँदासम्झदै विच्छेद भयो । मित्रले फेरि सम्झिए । अहिले एनटिसीबाट । मैले रिसिब गरेर ‘हेलो’ भन्नुको सट्टा विषयवस्तुतर्फ पस्न चाहे । सहजताका लागि भनिदिए, ‘हालखबर के छ ? सञ्चै हुनुहुन्छ ।’

मित्रले बोलीको सट्टा बाण हाने । पहिलो वाक्यमै ‘झ्वाम’ भए म । जिउँ चिसो भयो । ‘म त कोरोना संक्रमित भएर आइसोलेसनमा छु । साथी र म जचाउन गएको पोजेटिभ देखायो ।’ मित्र, निरन्तर भन्दै गए तर मलाइ उनको पहिलो वाक्यले छोयो । केही कुरा भने । उही भन्नका लागि भने । म आफै विच्किएको थिए ।

मैलै सोधे, विपुल जी के छ लक्षणहरु ? उनले भने– ‘मलाई १६ गतेबाट ज्वरो आयो । ज्वरो आएपछि काठमाडौंका ठाउँ उता उता गइएको थियो । पक्का संक्रमण हुन सक्छ भन्दै मैले सुरुमै सजगता अपनाए । तातो पानी ज्यदा पिएको छु । ज्वरो कम गर्ने पारासिटामोल खाएको छु । अहिलो ज्वरो पनि खासै छैन । १८ गते पिसिआर परिक्षणका लागि दिएको १९ गते विहान पोजेटीभ आयो । अहिले त्यस्तो कुनै असर देखाएको छैन । चाडै ठिक हुन्छु ।’

कोरोना नौलो संक्रमण होइन । तर नसोचेको खबर आएपछि मेरो जिउ सेलाएझै भएको थियो । मन कटक्क खायो । शरीर आलस्य भयो । तर मित्र आफ्नै रफ्तारमा भन्दै थिए ।‘औषधि खाने हो । साह्रो परे अस्पताल गइन्छ नभए रुममै आराम गरिन्छ ।’ मित्र सहज भन्दै थिए, समस्या मलाइ परेको थियो । यो भनाइपछि सम्पर्क लाइन टुट्यो । साथीभाइसँग यही बारेमा कुरा गरेपछि मनन गरे ।

‘कति महान् मित्र, रोग लाग्दा पनि निःसन्देह । आफ्ना बारेमा भन्दैछन् ।’ म भने डराइ सके । मलाइ थाहा थियो । उनको मनमा पिठा थियो । अनि शरीरमा रोग । तरपनि आफ्ना बारे चिन्तित थिएनन् । ‘संसारको प्रचलन हो । रोग लाग्छ । बाँचे गरिन्छ । नभए मरिन्छ ।’ यहीँ सोचे होलान् । पिडा देखाएनन् ।

मित्रको मनमा पसेर संसार बुझ्न खोजे । यस्ता कति मानव होलान् । जो पिडा लुकाउन वा पिडा कमगर्न हाँस्दै छन् । हुन त मर्नका लागि जन्मेको शरीर डराउनु नै किन थियो र ! तरपनि हेल्चेक्रयाइ गरेर कर्मैै नगरेर भएन । यसै सेरोफेरोमा मेरो मनमा केही हप्ताअघिको घटना आयो । मेरा एक नातेदारविरामी रहेछन् । विराम बढेको खबरपछि म त्यहाँ पुगे । विराम के थियो । बुझेको थिए तरपनि कुराकानी नगरी बस्न मन भएन । उनकी छोरीसँगै रहेछिन् । बोलाए छेउमा आइन् । केही पर गएर सोधे,‘ वुवालाई के भएको रहेछ ।’ मेरो प्रश्न भुइँमा नखस्दै भनिन्,‘वुवालाई जाति नहुने रोग लागेको छ ।’ उनको उत्तरलाई थप प्रकाश पार्दैै मैले थपे,‘क्यान्सर ?’

उनले पुरानै स्वरुपमा उत्तर दिइन्,‘अँ’ । यो सबैभन्दै गर्दा उनी दुःखी थिइनन् । पीडा थिए, छाती चिरिएको थियो,हृदय फाटेको थियो । तर, त्यो भाव झल्कदैन थियो । किनकि उनी आफै बुझ्ने थिइन् । यो हविगत सजिलै टर्नेवाला छैन । मैले यही प्रश्न गरे,‘यस्तो कठिन कुरा कसरी भन्न सक्दैछौ ?’ उनले मलाइ पो बुझाउन थालिन्,‘डराउनु पो केलाई रहेछ र दाइ । मलाइ गाह्रो लाग्न छाडेको छ । मन पोलेपनि देखाउँदै हिड्न मिलेन ।’वाक्य दुईवटा थिए । उत्तर पूरा थिए ।
म सम्झाउनु पर्ने ठाउँमा थिए । तर, आफै सम्झदै थिए । मैले यति सोच्न भ्याए छु । मान्छे पीडामा पनि हाँस्न सक्दो रहेछ । मानिसमा अलगअलग हाँसो हुँदा रहेछन् । एउटा मनभित्रबाट अनि अर्को मन र शरीर दुवैबाट । यी पात्रहरु मनबाट होइन । हाँस्नका लागि मात्र हासेका थिए । मलाइ लाग्थ्यो ।

उनीहरुमा निराशा थियो तर त्यसलाई धैर्य गर्ने चेत आइसकेको थियो । मन बुझाउन सिकिसकेका थिए । यतिसम्मकी दुःख के हो बुझिसकेका थिए । मैले आफ्नै आमालाई सम्झिए । मनमा पीडा हुँदाहुँदै पनि कति पटक मेरी आमा हासेकी छन् । मेरा साना खुसीमा उनका ठूला पीडा आट्थे । सायदै मेरी आमाका मनमा पीडा थिए तर सन्तान सुखका लागि कतिपय पटक शरीरबाट हाँस्देकी छन् । आमा मात्र होइन, अनेकौ अनेक सम्झे । ‘सायद, खुसी कस्तो हुँदो हो । मापन गर्न सकिएला ?’उत्तर आफै पाए, ‘नेपाल खुसीमा १०१ औ स्थानमा’ फेरि सम्झे यो तथ्यांकले नेपालको समग्र स्थानका बासिन्दाको आधार बनायो कि केही स्थानको ? यदि सबै स्थानको आधार तय गर्यो भने कहिले गर्यो ?

यदि मेरी आमाका बारेमा नापो लाग्यो भने कसरी लग्यो ? अनेकन प्रश्न वर्सिए । म जन्मेर यत्रो भए । मेरी आमाको खुसीका लागि म अनेक काम गर्दैछु । आमालाई खुसी पार्न साना खुसीका खबर म सुनाउँछु । दुःखका कम मात्र सुनाउँछु । आमा, मेरै लागि हासिदिन्छिन् । हाँस्नका लागि पनि हाँसिदिन्छिन् । मेरी आमा मात्र होइन, हजारौ आमा छन् । जो कसैलाई नराम्रो नदेखाउन र दुःखी भएको भान नपार्न ओठ खोलिदिन्छन् । तथ्यांक लिनले के बुझ्यो । त्यसैलाई खुसी मान्यो वा दुःखी । यो तथ्यांक सन् २०१२ देखि ग्याप्लप पोल सर्भेक्षणका आधारमा अन्तर्राष्ट्रिय संस्थाले गर्दै आएको रहेछ । तथ्यांकको पहिलो स्थानमा फिनल्याण्ड, नर्वे, डेनमार्क, आइसल्याण्ड, स्वीट्जरल्याण्ड रहेछन् । यसले आय, राष्ट्रिय आय, राष्ट्रिय औषत आयु, सामाजिक सुरक्षा, स्वतन्त्रता, विश्वास र उदारता नाप्दो रहेछ । मैले धेरै सोचिन । एउटा शब्द पक्रे, ‘स्वतन्त्रता’ । यो शब्द पनि नापिन्छ र ?यदि नापिदो हो त । नेपाल जस्तो लोकतान्त्रिक गणतान्त्रिक देशमा मुस्कान खातुन र सृष्टि केसी अनि रमेश प्रसाईंजस्तालाई कुन तुलामा राख्दो हो । जो गणतान्त्रिक मुलुकका नागरिक हुन् । आफ्ना पीडा लुकाएर अर्काको ओठमा हाँसो भर्न हिडेका छन् । मुस्कान खातुन यति बेला सम्झना आउँछ ।

जसले १५ बर्षको उमेर अनुहार जलाउनु परेको थियो । त्यो पनि आफूसँग प्रेम नगरेको नाममा एक पुरुषबाट एसिड प्रहारबाट । तर त्यस यता अनुहार जल्यो तर उनको ओठ मुस्कुराइ रहेछ । मुस्कानलाई कति पिडा थिए होला तर उनी सदावहार हासिरहन्छिन् । यसलाई मापन गर्न मेसिन बनेको होला । आफैमा प्रश्न वनियो । फेरि सोचे , प्रेरणाकी अर्की स्रोत, सृष्टि केसी । जो छ बर्षको उमेरमा आँखा गुमाउनु परेको थियो । आफै विचार गर्नुहोस् त ? आँखा गुमाउँदा कस्तो हुँदो हो । तर उनी थाकिनन् । निरन्तर जनतासँग जोडिरहिन्, उत्प्रेरणाकी स्रोत बनेर । मनोसामाजिक परामर्शदाता बनेर । उनले आफू जस्ता नेत्र नभएकालाई मात्र होइन । सयौ आँखा देख्नेका पनि आँखा खोलिदिइन् । उनी दुःखी वा खुसी के छिन् ?

म भन्न सक्दिन । एउटा राम्रै रियालिटी सो ‘डान्सिङ स्टार’ नाच्नकै लागि प्रतिष्पर्धामा उत्रिन । नदेख्नेका लागि यो नै सकसको विषय हो । त्यसमा पनि फाइनल नपुगी उनी फ्याकिन् । तर उनी रोइनन्, मन विगारिनन् । मन रोयो होला तर आवाज थिएन । हुनेवाला विजेताहरु रुँदै थिए तर उनले आँशु झारिनन् । अब विचार गर्नुहोस् त खुसीको मापन कसरी गर्ने ?

यही सम्झेर होला अग्रज पत्रकार विजयकुमार पाण्डेले एउटा आफ्नै विषयवस्तुले भरिएको पुस्तक लेखेछन् । पुस्तकको शुरुमै जीवनको तीतो अनुभव उदृत गर्दै रक्सी लेखेछन् । पुस्तकको अन्तिमसम्ममा विजयकुमार सन्त बनेछन् । अनि पुस्तकको नाम दिएछन्, ‘खुसी’ । उनी त्यही कुरामा खुसी थिए, विजयकुमारले लेखिदिए । अरुका विचारमा खुसी नलाग्न सक्ला । तर, यथार्थमा दुःखी शरीरमा पनि कति सुखी र सन्तुष्टि भेटिन्छ । अनि अनेकन महलमा पनि पीडा । यसको मापन कसरी गरिएला ।

मान्छेको मनको एउटा तस्बिर हो नि यो सबै । कसरी, मापन गर्न सकिएला । हुन त जीवन भोगाइ हो । यहाँ सुख र दुःख सबै भोग्नै पर्छ । अहिले म दिनै तनाब र समस्याले ताजुव व्यक्ति भेट्छु । कसैले त्यही विषयलाई हाँस्यस्पद बनाउँछन् त कसैले दुःख अनि पीडा । आखिर मान्छेमान्छे बीचमै हुने एउटा माध्यम हो तर कति फरक । मेरा मित्र विपुललाई स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्छु ।

मेरो स्वास्थ्यलाभले मित्र जाति नहोलान् । तर, मनोवल बढाउनका लागि पनि शुभकामना दिँदैछु । म पनि उनै मित्र विपुल, अनि मेरी नातेदार बहिनी, मुस्कान खातुन र रमेश प्रसाईं जस्तो बन्ने प्रयत्न गर्ने छु । भलै नसकिएला । सहने शक्ति त म मा कम होला तर स्वार्थी संसारमा पीडा लुकाउँदैमा पनि वैरी कमजोर बन्छ, भन्छन् । अनेक पीडाभित्र पनि खुसी भेट्ने प्रयत्न मेरो पनि जारी छ । सायद, मेरा मित्रहरु जस्तो म वा मेरी आमा जस्तो म भएभने मात्र सफलताको सगरमाथा चढ्नु सक्छु होला । खुसी त मात्र क्षण रहेछ । जसरी बुझे, जहाँबाट बुझेपछि समस्या र सागरभित्र खोजिने मणी । जो खोज्न सकस, भेट्दा गद्गद् ।