नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक्कासी बढ्यो : २४ घण्टामा २२५ जनाको मृत्यु, ९ हजार ४ सय ८३ संक्रमित

वैशाख, २८ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर र एन्टिजेन परीक्षण कुल ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । आजै ५ हजार २ सय ५० जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ।

हालसम्म नेपालमा ३ लाख १२ हजार १८ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७५.५ प्रतिशत पुगेको छ। हिजो निको हुने दर ७६ थियो । हालसम्म ९७ हजार ८ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ४ सय ४८ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट २० हजार ५ सय ९६ जना र एन्टीजेन विधिबाट ७ सय २० गरी कुल २१ हजार ३ सय १६ जनाको कोरोना परीक्षण गरिएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या २६ लाख ७२ हजार ७ सय २६ जना पुगेको छ।

गत २४ घण्टामा २ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेको मृतकको संख्या समेत थप गरिएको मन्त्रालयले जनाएको छ।