अफ्रिकन स्वाइन फिवर घरपालुवा सुंगुुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक बंगुरको महामारी सरुवा रोग हो । यो रोग सर्वप्रथम सन १९२१ मा अफ्रिकी मुलक केन्यामा देखापरेको थियो । विगतमा अफ्रिका महादेशमा मात्र सिमित थियो ।अफ्रिकी मुलुक बाहिर यो रोग युरोपको पोर्चुगलमा सन १९५७ मा पहिलो पटक देखा परेको थियो ।
यो रोग सन् १९६० देखि १९७० को दशकसम्म युरोपेली मुलुकको लागि निकै चुनौतिपूर्ण रहिरहयो ।यो रोग सन् २००७ मा जर्जिया हुँदै रसिया, लिथुवानिया, बेल्जियम, हंगेरी र केही युरोपेली मुलुकमा पुनस् देखापरेको थियो । यो रोग सन २०१८ मा चीनमा देखा परेपछि एसियन मुलुकहरु हुँदै छिमेकी मुलुक भारत र भुटानमा समेत देखापरि सकेको छ ।
यो रोग नेपालमा पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको छ । यो रोग असफारभीरीडी परिवारको डिएनए भाइरसको कारणले हुन्छ ।
रोग सर्ने माध्यम
संक्रमित सुंगुर बंगुर बीच प्रत्यक्ष सम्पर्कबाट,रोगी बंगुरको र्याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट,बिरामी बंगुरको वसारपसार वा किनबेच गर्दा, संक्रमण संक्रमित खोरमा काम गर्ने कामदार,संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि ।
रोगका मुख्य मुख्य लक्षणहरु
बंगुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डामहरु देखा पर्ने,कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने,नाकबाट फिँज निकाल्ने,यो रोग संक्रमित सुंगुर बंगुरलाई उच्च ज्वरो १०४ देखि १०७ डिग्री फरेनहाइट आउने,कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने,झोक्राउने र दानापानी खान छोड्ने,बान्ता गर्ने, छेर्ने, छटपटाउने, चाल धरमराउने, तुहिने जस्ता लक्षणहरुसहितको बथानमा एकै पटक १०० प्रतिशत सुँगुर र बंगुर मर्ने ।यो रोगको उपचार छैन ।
रोग रोकथामको लागि जैविक सुरक्षा व्यवस्थापन
जैविक सुरक्षा भन्नाले जीवनको रक्षा गर्नुलाई जनाउदँछ । जैविक सुरक्षामा रोगका कारक तत्वहरुलाई पशुपन्छीबाट र पशुपन्छीहरुलाई रोगका कारक तत्वहरुबाट टाढा राख्न गरिने व्यवस्थापनलाई जनाउँदछ ।पशुपन्छीहरुलाई रोगबाट जोगाउने तथा रोकथाम गर्नको लागि अपनाइने उत्तम उपाय नै जैविक सुरक्षा हो । जैविक सुरक्षामा पशुपन्छीलाई अलग राख्ने, ओसार पसार तथा आवतजावतमा नियन्त्रण गर्ने र सरसफाईमा ध्यान दिनु नै मुख्य कार्य हुन । यसको लागि शुन्य लगानीमा कार्य गर्न सकिन्छ ।यसको लागि निम्न लिखित कुराहरु अवलम्वन गर्नु पर्दछ । बंगुरलाई अलग राख्ने ,रोग लागेका बंगुरलाई तुरुन्तै बथानबाट छुट्याएर अलग राख्ने,बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने,बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधैं फार्ममा रहेका बंगुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने,एक फार्म देखि अर्को फार्मको दुरी २०० मिटर, ग्रामीण बंगुर फार्म देखि फार्मसम्मको दुरी ४० मिटर, पशुपन्छी हाटबजार वा प्रशोधन कारखाना सम्मको दुरी ५०० मिटर, फार्म हाउस देखि फार्म गेटसम्मको दुरी, एउटै फार्मका सेड देखि सेड सम्मको दुरी र गाई भैसी बाख्रा अरु पशुहरुको फार्मको दुरी १० मिटर र मल लगायत फोहर थुपार्ने दुरी १०० मिटर फरकमा हुनु पर्छ ।शंकास्पद बंगुरको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गराउने र रोग प्रमाणित भएमा सो खोरमा भएका बंगुरहरुलाई मानवीय तरिकाले नष्ट गर्ने,मरेका बंगुरहरुलाई गहिरो खाडलमा पुरी चुना छर्कने,घरपालुवा बंगुर सुंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने,बिरामी र मरेको बंगुरलाई खोरबाट तुरुन्तै हटाउने र रोग नफैलिने किसिमले नष्ट गरेको हुनु पर्छ ।
फोहरलाई अलग्गै पुर्ने कम्पोष्ट बनाउने बायोग्याँसमा राख्ने वा जलाएर नष्ट गर्ने, ओसार पसार तथा आवतजावतमा नियन्त्रण गर्ने ,फार्म फेन्सिङ भएको हुनु पर्ने र भित्र जाने गेटमा ‘भित्र पस्न सख्त मनाही छ’ भनी लेखिएको हुनुपर्छ ।बंगुरको खोरमा अनावश्यक मानिसको आवत जावत रोक्नुपर्छ ।आगन्तुकले फार्म भित्र जानुपर्दा अनुमति लिएर मात्र जान पाउने व्यवस्था मिलाउनु पर्छ ।फार्म परिसरको मुख्य प्रवेशद्वार एउटा मात्रै हुनु पर्ने र बाहिर निस्कन अर्को ढोका पछाडि राख्ने व्यवस्था मिलाउनु पर्छ ।फार्मको गेटमा पालेको व्यवस्था हुनुपर्छ ।फार्म परिसर भित्र मुसा र किरा नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको हुनुपर्नेछ ।
बंगुरको दाना राख्ने कोठामा जंगली जनावर, चरा तथा अन्य जनावर पस्न नसक्ने हुनुपर्छ ।फार्ममा आगन्तुको अनावश्य प्रवेशमा रोक लगाउनु पर्नेछ ।आगन्तुकहरुलाई बंगुरसँग सोझै सम्पर्क आउन दिनु हुँदैन ।फार्ममा आगन्तुकहरुको पूर्ण विवरण सहितको अभिलेख राख्ने गर्नुपर्छ ।सरसफाईमा ध्यान दिन बंगुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाई गरी चुना, फिनायल, फर्मालिन, ब्लिचिङ्ग पाउडर आदिले निःसंक्रमण गर्नुपर्छ ।सुँगुर बंगुरलाई होटल रेष्टुरेन्टबाट निस्कने फोहर खानेकुरा खुवाउने गरेको भए तत्काल बन्द गर्नुपर्छ ।फार्म भौगोलिक दृष्टिकोणबाट उपयुक्त हुने ठाउँ रोग निवारण गर्न सकिने गरी घनावस्ति भन्दा टाढा हुनु पर्छ । खोरमा हावाको वहने दिशालाई समेत दृष्टिगत गरिएको हुनुपर्छ । वातावरणीय हिसाबबाट उपयुक्त हुने स्थानमा खोर बनाउनु पर्छ ।एउटा बंगुर समूहलाई अर्को समूहसँग मिसाउनु हुँदैन ।दाना राख्ने घर सफा र निःसंक्रमण गर्न सकिने खालको हुनुपर्छ ।
प्रत्येक बंगुर फार्म भित्र आगन्तुक र कर्मचारीलाई कपडा बदल्ने कोठा र स्नान कक्षको व्यवस्था हुनुपर्छ ।खोरलाई दैनिक नियमितरुपमा सफा गर्नु पर्दछ, तत्पश्चात सफा गरी निःसंक्रमण गर्ने व्यवस्था गर्नु पर्छ । जिवाणु विषाणु ढुसी भए नभएको बारे समय समयमा अधिकारिक प्रयोगशालाबाट प्रमाणित गर्नुपर्छ ।फार्ममा पूर्ण स्वस्थ्य तथा रोग प्रतिरोधात्मक उपाय अपनाएको फार्मबाट बंगुरका पाठापाठी तथा माऊ एवम् बीर खरिद गर्नु पर्नेछ ।साथै उक्त फार्म संक्रामक रोगबाट मुक्त भएको आधिकारिक निकायबाट प्रमाणित गरिएको हुनुपर्छ ।दाना सफा र सुरक्षित ठाउँमा भण्डारण गरिएको हुनुपर्छ । दानामा पनि संक्रामक रोग मुक्त भए नभएको समय समयमा आधिकारिकनिकायबाट परीक्षण गरी राखेको प्रमाण राख्नुपर्छ ।फार्ममा प्रयोग गरिने पानी पिउन योग्य हुनुपर्छ ।फार्मबाट निस्केको फोहरलाई सुरक्षित साथ नष्ट गर्नुपर्छ ।फुट डिप हरेक खोरको अगाडि राख्ने व्यवस्था मिलाउनु पर्छ ।फार्मको ढोका सधैं बन्द राखी नियमित रुपमा निःसंक्रमण गर्नुपर्छ ।खोरको वरिपरि पानी जम्ने ठाउँ हुनु हुदैन ।बंगुरको खोर घुलो धुवा तथा प्रदुषण मुक्त हुनु पर्छ ।फार्मबाट निस्किएको फोहर पानी पुनः प्रयोग गर्नु हुँदैन ।फार्ममा राम्रो ढलको व्यवस्था मिलाउनु पर्छ ।फार्ममा कार्यरत व्यक्तिहरुको लागि शौचालय तथा पटक पटक साबुन पानीले हात धुने उचित व्यवस्था मिलाउनु पर्छ ।
जैविक सुरक्षा विना कुनै पनि रोग नियन्त्रण गर्न सकिदैन कतिपय क्रियाकलापहरु शुन्य लगानीमा सम्पादन गर्न सकिन्छ । ठूलाठूला महामारी नियन्त्रणमा जैविक सुरक्षा नै रोग नियन्त्रणको लागि उत्तम विकल्प रहेको कुरामा दुईमत छैन । अफ्रिकन स्वाइन फिवर विरुद्ध हालसम्म खोप तथा औषधि पत्ता नलागेकोले यो रोग नियन्त्रणको लागि सस्तो र प्रभावकारी विधि भएकोले अफ्रिकन स्वाइन फिवर रोग नियन्त्रणको लागि सर्र्वाेतम उपाय जैविक सुरक्षा व्यवस्थापनलाई मान्न सकिन्छ ।
- डा केदार कार्की







