काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काइँली’ सार्वजनिक भएको छ । लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत गायक मल्ल स्वयंको हो । यो गीतको संगीत संयोजन श्याम श्वेत रसाइलीले गरेका हुन् ।
युवापुस्ताको प्रेम, आकर्षण र समर्पणको भावलाई गीतले प्रस्तुत गरेको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, खड्गबहादुर पुन मगर (खबपु), अनु थापा, अरुण पुन मगर, स्मिता लामिछाने र शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ । भिडियोमा सौगात र तेरियाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । यसले सिनेमामा उनीहरू जोडीको रूपमा रहेको स्पष्ट संकेत गर्छ । गीतका कोरियोग्राफर मिङ्मा डि लेप्चा हुन् ।
निर्माता जनक घर्ती मगरले ‘मितज्यू’ यो गीत कथाको माग अनुसार नै राखिएको बताए । ‘सिनेमाको कथाले जुन गीत मागेको थियो, त्यही नै समावेश गरेका हौं । अडियो र भिडियो दुवैलाई उत्कृष्ट बनाउन हामीले कुनै कुरामा सम्झौता गरेका छैनौं । दर्शकले यो गीत मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।
यसअघि ‘घरज्वाइँ’ जस्तो सफल सिनेमा निर्माण गरेका प्रदर्शनको तयारीमा रहेको ‘मितज्यू’बाट समेत निकै आशावादी छन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमामा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर लगायतको अभिनय रहेको छ । डान्सर समेत रहेकी तेरियाको यो डेब्यु सिनेमा हो ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा महेश राईको लेखन, लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन, प्रभात विष्टको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठको पाश्र्व संगीत, कुनाल सुनुवारको रंग संयोजन तथा मुकेश शाहको साउन्ड डिजाइन रहेको छ । ग्रामीण परिवेशमा निर्माण भएको सिनेमाले मितेरी साइनोको कथा उठाइएको जनाइएको छ ।







