काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा’को दोस्रो शृंखला आगामी बैशाखबाट छायांकन सुरु गर्न लागिएको छ । यतिबेला ‘आ बाट आमा २’मा कलाकार छनोटको काम भइरहेको छ । पहिलो श्रृंखलाकै दुई मुख्य कलाकार विपना थापा र पल शाह अनुबन्धित भइसकेको सिनेमामा अभिनेता आकाश श्रेष्ठको प्रवेश भएको छ ।
सोमबार निर्देशक चन्द्र पन्तले आकाशलाई सिनेमाको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरेका हुन् । उनका अनुसार सिनेमाको कथा र पात्रमा सुहाउने भएपछि आकाशलाई लिइएको हो । उनको प्रवेशसँगै सिनेमाको कथा पहिलो भागको भन्दा फरक ढंगले अगाडि बढ्ने देखिएको छ । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी गराएको छैन् ।
सिनेमामा विपना, पल र आकाशबाहेक अरु कलाकार को-को रहने फाइनल भएका छैनन् । सिनेमाको पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका रहेको थियो । उनीहरूमध्ये उषा भने दोस्रो भागमा दोहोरिन सक्ने सिनेमा निकट श्रोतले जनाएको छ । उनी ‘आ बाट आमा’मा पलको जोडी बनेर देखिएकी थिइन् ।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । उनी आफैं निर्माता रहेको सिनेमालाई आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोडमाथिको व्यापार गरेकाले यसको दोस्रो भागले त्यो आँकडालाई उछिन्न सक्छ वा सक्दैन भन्ने चासोमा दर्शकमा देखिएको छ ।







