व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्छ: उपराष्ट्रपति यादव

ललितपुर -उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमी व्यापार मेलाबाट आत्मनिर्भर बन्न मद्दत पुग्ने बताएको छ ।

महिला उद्यमीहरुको उत्पादनलाई बिक्री प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पु–याउने उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ९औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दीगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको बताए ।

“महिला उद्यमशिलताले व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको सम्वाहक भूमिका निर्वाह गर्छ, महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ, महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ, यसबाट रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ”, उनले भने ।

उपराष्ट्रपति यादवले व्यापार मेलाबाट जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरूको उत्पादनलाई बजारसम्म पु¥याउन र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरियो । उद्यमशिलताले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउँदा समाजलाई समावेशी बनाउने उल्लेख गर्दै उनले स्थानीय स्रोत र सीपमा आधारित उत्पादनले वातावरणमैत्री तथा दीगो विकासलाई प्रोत्साहन गर्ने बताए ।

महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले मेलाले महिला उद्यमशीलताको राष्ट्रिय अभियानलाई सहयोग पुर्याउने जानकारी गराए । महिला उद्यमी महासङ्घमा हाल पाँच हजार ७०० भन्दा बढी महिला आबद्ध रहेका उनले जानकारी दिए । मेला तीन दिनसम्म चल्नेछ ।