पाल्पामा कोरोना किट अभाव

तानसेन, १४ जेठ :
पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा आइतबार आरडिटी तथा पिसिआरका लागि स्वाब संकलन गरिएको तर सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणका लागि गम्भीरता नदेखाएको पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईको गुनासो छ । उहाँले भन्नुभयो, “परीक्षण नगरी स्थानीय तहको जिम्मा लगाउन बाध्य छौँ, जिल्लामा भयावह अवस्था आउँछ कि भन्ने चिन्ता छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ भट्टराईका अनुसार अहिलेसम्म जिल्लामा आरडिटीका लागि एक हजार र पिसिआरका निम्ति साढे चार सयको हाराहारीमा किट रहेकामा अब आकस्मिक जाँचका लागि बाहेक पर्याप्त छैन । जिल्ला प्रशासन कार्यालयका अनुसार गत चैतदेखि अहिलेसम्म जिल्लामा आएका करीब ६०० जनामध्ये ५५१ जनाको आरडिटी तथा ७९ जनाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको छ । रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर तथा नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पालीको उद्धार गरी जिल्लामा ल्याएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । पाल्पा आएका नागरिकलाई तानसेनमा स्थापित क्वारेन्टाइनमा राख्ने, आरडिटी र पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिए आइसोलेशनमा पठाउने र नेगेटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने व्यवस्था गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक मीरा मरासिनीले जानकारी दिनुभयो । स्थानीय तहमा लगेपछि पुनः १४ दिन क्वारेन्टाइनमा राख्ने तथा आरडिटी गरेर एक हप्ता होम क्वारेन्टिनमा बस्ने गरी पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण समिति पाल्पाको मङ्गलबार साँझ बसेको बैठकले प्रदेश र सङ्घीय सरकारसँग किट माग गर्ने निर्णय गरेको छ ।