मनोज गजुरेल कोरोनामुक्त

कात्तिक ३०, काठमाडौं ।
हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।

यसको जानकारी गजुरेल आफैले सामाजिक सन्जालमार्फत् दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘११ दिनको अस्पताल बसाइ पश्चात् घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।’

केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवादसमेत दिएका छन् ।

उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामना दिएका छन् ।