बजेट पारितको कार्यसूची हट्यो, संविधान संशोधनको कायमै

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको बजेटको मन्त्रालयगत शीर्षक माथि उठेका प्रश्नहरुको जवाफ दिन नभ्याउने भनेपछि मंगलबारको प्रतिनिधि सभाको कार्यसूचीबाट बजेट पारितको विषय हटेको छ ।

सोमबार नै बजेट पारित गर्ने संभावित कार्यसूची तय भएता पनि पछि हटेको थियो र मंगलबार पनि संभावित कार्यसूचीमा राखेर हटाइएको छ ।

अब प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालय अन्तर्गतको शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिएपछि मात्र बजेट पारित हुनेछ । बजेट पारित गर्ने कार्यसूची हटेको भएपनि नक्सा सम्बन्धी संविधान संशोधन विधेयक माथि विचार गरियोस् भनेर पेश गरिएको प्रस्तावले कार्यसूचीमा निरन्तरता पाएको छ ।

संसदमा मंगलबार नै उक्त प्रेशित विधेयकमाथि सैद्धाान्तिक छलफल समेत हुनेछ ।