कांग्रेसलाई अर्थमन्त्रीको जवाफः सरकारी खर्च पारदर्शी हुन्छ

२७ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले महामारीका बेला गरिएको खर्च पारदर्शी हुने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसले कोरोना भाइरसको महामारीको नियन्त्रणका बेला समेत सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको थियो । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरु आसनबाट उठे र विरोध जनाए । लगतै सभामुख अग्नि सापकोटाले सांसद गगन थापालाई बोल्न समय दिए ।

त्यसबेला सांसद थापाले प्रश्न गरे, पाँचवटा पिसीआर मेसिन र २५ हजार किट किनेर १० अर्ब खर्च देखाउने ?’ कोरोना भाइरस नियन्त्रणका नाममा सरकारले चरम लापरबाही र भ्रष्टाचार गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

सांसद थापाले भने, ‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । पाँचवटा पिसीआर र २५ हजार किट किनेर १० अर्ब रुपैयाँको हिसाबकिताब देखाउनुपर्दैन ? हामीलाई एक एक कुराको हिसाब किताव चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठ हो ।’

केही समयपछि सञ्चार मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले भने, महामारीका बेला गरिएको सरकारी खर्च पारदर्शी हुन्छ ।’

अर्थमन्त्रीले कोरोनाको शीर्षकमा भएका खर्च जनताका बीचमा सार्वजनिक गर्ने पनि बताएका छन् ।