मंसिर ४, काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट देखाएर विदेश पुगेका केही यात्रुमा पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि नेपालका प्रयोगशालाहरुमाथि छानबिन गरिने भएको छ ।
नेपालबाट कोरोना संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ देखाएर गएकाहरुमा विदेशमा पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्सलाई हङकङले तीन पटक प्रतिवन्ध लगाइसकेको छ । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको विमानस्थलबाट पनि चेतावनी पाएको छ ।
यी घटनापछि नेपाल एयरलाइन्सले कैफियत देखिएका यात्रुको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउँदै विभिन्न प्रयोगशालाबाट स्वाब नै संकलन नगरी यात्रुको नक्कली रिपोर्ट दिने गरेको आंशका व्यक्त गरेको छ । सोही आशंकालाई लिएर पर्यटन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयलाई छानविनका लागि सिफारिस गरेको छ ।
नेपाल एयरलाइन्सले निजी क्षेत्रका नाम चलेकै अस्पतालको रिपोर्टमा समस्या देखिएको बताएको छ । विदेशमा नेपाली रिपोर्टमा कैफियत देखिनुमा नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयले विभिन्न चार वटा कारणबारे आशंका गरेका छन् ।
प्रयोगशालाले स्वाब संकलन नै नगरी नक्कली रिर्पोट बनाएर दिएको नेपाल एयरलाइन्सको आशंका छ । जसलाई नेपालको विमानस्थलमा ‘क्रस भेरिफाई’ गर्ने अर्को प्रणाली छैन । सोही कारण रिपोर्ट देखाएर यात्रु सहजै विदेश जान सक्छ ।
दोस्रो कारण स्वाब संकलन गरेपछि नेगेटिभ देखाइदिने गरेको हुने सक्ने आंशका समेत एयरलाइन्स र मन्त्रालयको आंशका छ ।
उता, स्वाब संकलनपछि निर्धारित समयसम्म भण्डारण गरी राख्नु पर्नेमा त्यसरी नराखिएको पाइएको समेत आशंका छ । यसबाहेक कोभिड १९ आरटी पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउन आवश्यक अनुसन्धान गर्न समेत पर्यटनले सीसीएमसी तथा स्वास्थ्य मन्त्रालयलाई प्रस्ताव गरेको छ ।
यसअघि नेपाल एयरलाइन्सले नेपालमा नेगेटिभ रिपोर्ट लिएर विदेश पुगेपछि पोजेटिभ देखिएका पहिलो दुई चरणका यात्रु र उनीहरुले परीक्षण गरेको ल्याबको विवरण पर्यटन मन्त्रालयमा पठाएको थियो ।
यसबीचमा दुई उडानबाट कुल १३ जना यात्रुमा हङकङ पुगेपछि कोरोना पुष्टि भएको छ । विवरण अनुसार सबैभन्दा बढी स्टार हस्पिटलको रिपोर्ट लिएका यात्रुमा समस्या देखिएको छ । उक्त अस्पतालबाट नेगेटिभ रिपोर्ट लिएका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यसबाहेक ह्याम्स हस्पिटल, सौर्या हेल्थकेयर, केन्द्रीय निदान प्रयोगशालाका १÷१ वटा रिपोर्टमा पनि समस्या देखिएको भन्दै नेपाल एयरलाइन्सले यी ल्याबको सूची पर्यटन मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले नेपाल एयरलाइन्सको समेत समस्या समेटेर अनुसन्धानका लागि २८ कात्तिकमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाई चिठी लेखेको हो ।
पर्यटन मन्त्रालयले भनेको छ, ‘अहिलेको परिस्थति बारम्बार सिर्जना भएका नेपाल भित्र हुने गरेको कोभिड १९ परीक्षणको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने, फलस्वरुप राष्ट्रिय छविसमेत धुमिल हुन सक्ने र नियमित उडानमा समेत असर पर्न सक्छ ।’ सोही समस्या न्यूनीकरण गर्न नेपाल एयरलाइन्सले उठाएका विषयमा आवश्यक छानविन र आवश्यक कारवाहीका लागि समेत मन्त्रालयले सिफारिस गरेको हो ।
कुन कुन गन्तब्यमा देखिएको हो समस्या ?
नेपाल वायुसेवा निगमका अनुसार २ अक्टोबर २०२० मा काठमाडौं–हङकङ उडानबाट त्यहाँ पुगेका ५ जना यात्रुमा हङकङ पुगेपछि कोरोना पुष्टि भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सले ४ अक्टोबरदेखि १७ अक्टोबरसम्म उडानमा प्रतिबन्ध झेल्यो ।
दोस्रो पटक १९ अक्टोबरमा काठमाडौं–हङकङ उडानबाट त्यहाँ पुगेका ९ यात्रुमा कोरोना देखियो । त्यसपछि २२ अक्टोबरबाट ४ नोभेम्बरसम्म हङकङको नागरिक उड्डयन विभागले नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगायो ।
तेस्रो प्रतिबन्ध भने नेपाल एयरलाइन्सलाई १२ नोभेम्बरबाट २५ नोभेम्बरसम्मका लागि लागेको छ । यो प्रतिबन्ध अहिले पनि जारी रहेको छ । यसबाहेक नेपाल एयरलाइन्सको दुबई रुटमा यात्रा गर्ने यात्रुमा समेत पोजेटिभ देखिएपछि यूएईको नियामक निकायले निगमको ध्यानाकर्षण गराएको छ ।
उता, जापानको नारिता उडानमा समेत २ देखि १० जना यात्रुमा कोरोना पोजेटिभ देखिएको हो ।
हामीले प्रश्न उठाएका छौं, हल सरकारले दिनेछ ः महाप्रबन्धक पौडेल
नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले पटकपटक नेपालमा गरिएको परीक्षणमा समस्या देखिएपछि प्रश्न उठाएको बताएका छन् ।
उनले भने, ‘रिपोर्ट नक्कली हो भनेर हामी भन्न सक्दैनौं, तर होकी भनेर प्रश्न उठाउन सक्छौं । यसको हल सरकारले गर्छ ।’
महामारीको संकटमा नेपाल एयरलाइन्सले राम्रो आम्दानी गर्ने गन्तव्यमै प्रतिबन्धको सामना गर्दा कम्पनीले करोडौं रुपैयाँ घाटा बेहोर्नु परेको भन्दै उनले राष्ट्रको समग्र हितकै लागि थप छानबिन र अनुसन्धानको आवश्यकता औल्याइएको बताए ।







