मंसिर ५, काठमाडौं ।
सर्वोच्च र उच्च अदालतका रजिष्ट्रारका साथै अदालतका स्रेस्तेदार र तहसीलदारहरूले पहिलोपल्ट राष्ट्रिय सम्मेलन गर्न गइरहेका छन् । सम्मेलन अनलाइन माध्यमबाट हुने बताइएको छ ।
मंसिर ८ र ९ गत्ते देशभरका अदालतमा कार्यरत उल्लिखित पदहरूमा रहेका सबैको राष्ट्रिय सम्मेलन हुन गइरहेको सर्वोच्च अदालतले जनाएको छ । ‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन ः हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ सम्मेलन आयोजना हुन गइरहेको सर्वोच्चले बिहीबार एक सूचना जारी गरेर बताएको छ ।
सम्मेलनको उद्घाटन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले गर्नेछन् । न्यायालयमा प्रशासनको भूमिका, फैसला कार्यान्वयनको अवस्था, अदालत व्यवस्थापनको प्रभावकारिता जस्ता विषयमा छलफल हुने सूचनामा उल्लेख छ ।
यसै आर्थिक वर्षको सुरुआतसँगै लागू भएको फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता, नयाँ संहिताहरूको कार्यान्वयनको अवस्था, न्यायपालिकाभित्रका सूचना प्रवाहमा प्रविधिको प्रयोग जस्ता विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।
मंसिर ९ मा घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ ।







