मन्त्रालय नै खारेजको कुरा नगर्नुस्ः हृदयेश त्रिपाठी

२७ जेठ, काठमाडौं । सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीले नेपालको स्वास्थ्य अवस्था उदांगो भएको स्वीकार गरेका छन् ।

उनले नेपालको स्वास्थ्य अवस्था कमजोर रहेको कोरोना महामारीले देखाइदिएको बताए । ‘अहिलेसम्म नेपालको स्वास्थ्य अवस्था कस्तो थियो उदांगो भयो । यसअघि स्वास्थ्य मन्त्री भएका कसैले पनि घमण्ड नगरे हुन्छ’ उनले भने ।

उनले सांसदहरुले सामान्य प्रशासन मन्त्रालय खारेजीको माग गरेकोमा आपत्ति जनाउँदै मन्त्रालय खारेज गरे मुलुक नै बर्वादीको बाटोमा जाने बताए । उनले सामान्य प्रशासन मन्त्रालयले नै देशको प्रशासनको बागडोर सम्हालेको दावी गर्दै, प्रश्न गर्ने सांसदले मन्त्रीसँग रिस उठेर प्रश्न गरे पनि मन्त्रालय नै खारेजको माग नगर्न अनुरोध गरे ।

अहिले क्वारेन्टाईनको व्यवस्थापन पनि स्थानीय सरकारको समन्वयमा भइरहेको उनको भनाई छ । ‘म अहिले भएको क्वारेन्टाईन युरोपियन मापदण्ड अनुसारको त भन्दिन । युरोपमा पनि थाहा भै हाल्यो नि । त्यहाँको पनि हाल कस्तो छ भन्ने,’ उनले भने ।

सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास कार्यक्रम)को बचाउ गर्दै उनले कोषको आवश्यकता झन् बढि भएको अहिलेको महामारीले देखाएको बताए । ‘अहिलेको बजेटमा निकै जोखिममा परेको थियो तर पनि अहिले आएको छ,’ उनले भने ।

कोष मार्फत स्वास्थ्य र कृषिको पूर्वाधारमा खर्च गर्न त्रिपाठीले सांसदहरुलाई आग्रह गरे । उनले केही नेताहरुले प्रचारका लागि कोषको पैसा कोरोना नियन्त्रणमा दिएको आरोप लगाए ।