संसदमा नयाँ नक्सा सम्बन्धी बहस लम्बिदा मन्त्रिपरिषद् बैठक सर्यो

२७ जेठ, काठमाडौं । संसदमा नयाँ नक्सा सम्बन्धी बहस लम्बिदा मन्त्रिपरिषद् बैठक टरेको छ ।

संसद बैठक लम्बिएपछि आजको मन्त्रिपरिषद् बैठक सरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार अब मन्त्रिपरिषद् बैठक बुधबार मात्रै बस्ने भएको छ ।

मंगलबारै अमेरिकी परियोजना एमसिसीबारे छलफलका लागि बस्‍ने भनिएको नेकपा सचिवालय बैठक पनि स्थगित भएको थियो ।

प्रतिनिधिसभाको बैठकमा नेपालको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयकमाथि रातिसम्म छलफल जारी छ । नयाँ नक्साबारेको छलफलका क्रममा प्रधानमन्त्री ओली पनि संसदमा आएका थिए । उनी केही समय संसदमा बसेर बालुवाटार फर्किसकेका छन्।

बजेटमाथिको छलफल मंगलबार सकिएको छ। अब बजेट पास गर्ने कार्यक्रम भोलिको संसद बैठकमा राखिने भएको छ।