मंसिर ९, सुर्खेत ।
कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेलले सरकारी गाडी प्रयोग गर्दै आएका छन् । तर उनलाई प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटना भएको थियो । तत्पश्चात् मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो ।
गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश गरिएको छ । समृद्धि इन्टरप्राइजेजले गाडी मर्मतका लागि ५८ लाख ६९ हजारको अनुमानित खर्च विवरण पेश गरेको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार यो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । ‘कम्पनीले खरिद मूल्यभन्दा बढी अनुमानित मर्मत खर्च पेश गरेको छ,’ गुरुङले भने, ‘सचिवालयले यान्त्रिक कार्यालयमार्फत यसको प्राविधिक जाँच गर्छ ।’
अनुमानित खर्च निकै धेरै पेश भएकाले गाडी मर्मत प्रक्रिया अगाडि नबढाएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘यस विषयमा बिमा कम्पनीसँग छलफल गरेपछि मात्र अघि बढ्न सकिन्छ,’ उनले भने ।
बिमा कम्पनीले भने गाडी मर्मत गर्न इञ्जिनियर पठाएको जानकारी दिएको छ ।
सत्तारुढ नेकपाका सांसद कँडेलले लामो समयसम्म विपक्षी दलका नेता सरहको सेवा सुविधा लिँदै आएका थिए । त्यही कारण संसद सचिवालयले गाडी उपलब्ध गराएको थियो ।
महालेखाले बेरुजु देखाएपछि भने कँडेलले आर्थिक वर्ष २०७७ को साउनदेखि प्रदेशसभा सदस्यको मात्र सुविधा दिन भनेका थिए ।







