मंसिर, ९ रौतहट । वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई व्यक्ति हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
यी दुई व्यक्तिले अत्यधिक मदिरा सेवन गरी सोही ठाउँका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिट गर्दै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको थियो । घाइते पासवानलाई तत्काल एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको गए राति ८ः१५ बजे अस्पतालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा दुबै अभियुक्तलाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
अभियुक्त दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको उनले जानकारी दिए ।







