मंसिर १०, काठमाडौं ।
फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन ।’
बिबिसीसँग कुरा गर्दै उनले मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बताएका छन् । डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री’ मा डिजिटल प्रविधिलाई मूर्ख उत्पादन गर्ने उद्योगसँग तुलना गर्दै त्यस्तो दाबी गरेका छन् ।
उनका शब्द प्रियकर नलागे पनि यी वैज्ञानिकले आफ्नो धारणा तथ्याङ्कमा आधारित भएको बताए । फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गरेका यी वैज्ञानिकको पुस्तकले हामी आफ्नो बच्चा कसरी हुर्काउँछौँ भन्नेमा व्यापक बहस निम्त्याएको छ ।
प्राज्ञिक समूहभन्दा बाहिर पनि उनी केही लोकप्रिय छन् र फ्रान्समा सर्वाधिक विक्री भएको सूचीमा परेको उनको पुस्तक इटालियन र स्पेनिश भाषामा पनि अनुवाद भइसकेको छ ।
इन्टरनेट लोकप्रिय भएपछि जन्मिएका मानिसहरूलाई अहिले ‘डिजिटल नेटिभ’ भनिन्छ । यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको छ ।
शृङ्खलाबद्ध परीक्षणबाट कसैको बौद्धिक स्तर कति छ भनेर गरिने गणना गरिन्छ । उनले ‘इन्टरनेटको कुलत लागुऔषध जतिकै घातक’ भएको बिबिसीलाई बताएका छन् ।
विद्युतीय प्रविधि आउनुअघि प्रत्येक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा बाठो भएको डेस्म्युजेको तर्क छ । आइईक्यू विशिष्ट परीक्षणबाट जाँच गरिन्छ तर अधिकांश अवस्थामा त्यसको विधि परिमार्जन भइरहन्छ ।
‘मेरा अभिभावकले मैले उत्तीर्ण गरेकै परीक्षा दिएका थिएनन् । तर मानिसहरूको एउटा समूहलाई पुरानै परीक्षामा पनि राख्न सकिन्छ,’ उनले भने ।
डिजिटल दुर्व्यसनले मानिसको बौद्धिक क्षमता घटनाको डेस्म्युजेको तर्क छ । अनुसन्धानकर्ताहरूले विश्वका धेरै स्थानमा एउटा पुस्ताबाट अर्को पुस्ता आइपुग्दा आईक्यू बढेको पत्ता लगाए ।
यो प्रवृत्तिको व्याख्या गर्ने अमेरिकी वैज्ञानिकका नाममा यसलाई ‘फ्लीन इफेक्ट’ भनिएको थियो । तर अहिले धेरै देशहरूमा त्यो क्रम उल्टिन थालेको छ ।
स्वास्थ्य प्रणाली, विद्यालय प्रणाली र पोषणजस्ता कुराले आईक्यूमा महत्त्वपूर्ण प्रभाव पार्छ । तर दशकौँदेखि आर्थिक सामाजिक अवस्था स्थिर रहेका देशमा पनि ‘फ्लीन इफेक्ट’ कमजोर हुँदै गएको छ ।
नर्वे, डेनमार्क, फिनलन्ड, द नेदरल्यान्ड्स, फ्रान्स आदि देशमा यस्तो देखिन्छ ।
अहिले नै सानो उमेरमा कीटनाशक औषधि वा स्क्रीनसँगको सम्पर्कजस्ता कारकले कस्तो विशिष्ट भूमिका खेले भन्न सकिँदैन ।
तर हामी के भन्न सक्छौँ भने बच्चाले स्क्रीनमा बिताएको समयले आईक्यूमा उल्लेख्य रूपमा प्रभाव पार्न सक्छ ।
सन् १९४० को दशकदेखि एक पुस्ताबाट अर्को पुस्तामा जाँदा बौद्धिक स्तर बढेको देखिएको भए पनि अहिले केही देशमा त्यो परिस्थिति उल्टिएको देखिएको छ ।
सबै दोष त्यसलाई लगाउन नसकिए पनि कैयौँ अध्ययनले टेलिभिजन वा भिडिओ गेममा बढी समय बिताउँदा आईक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ ।
भाषा, एकाग्रता, स्मृति र संस्कृति हाम्रो चेतनशीलताका मूल जग हुन् र त्यसमा प्रभाव पर्दा हाम्रो शैक्षिक गुणस्तरमा पनि उल्लेख्य ह्रास आउँछ ।
उनको भनाइ छ, ‘हाम्रो भाषागत र भावनात्मक विकासका लागि महत्त्वपूर्ण रहने परिवारसँग अन्तरक्रियाको गुणस्तर र परिमाणमा कमी ।’
अरू उपलब्धिपूर्ण कामहरू जस्तै गृहकार्य, सङ्गीत, कला र अध्ययनमा दिने समय पनि घट्छ । स्क्रीनमा व्यतीत हुने समय र सङ्ज्ञानको विकासको उल्टो सम्बन्ध भएको अनुसन्धाताहरू बताउँछन् ।
त्यसबाहेक निद्रा प्रभावित हुने, ध्यान अन्यत्र जाने हुनाले एकाग्रता भङ्ग हुन्छ र ज्ञानसम्बन्धी प्रतिक्रिया कम हुँदा मस्तिष्कले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्दैन ।
एकैखालको त्यस्तो जीवनशैलीले शरीरको विकासबाहेक मस्तिष्कले काम गर्ने तरिकालाई पनि प्रभावित गर्छ ।
उनको भनाइमा मस्तिष्क ‘स्थिर’ अङ्ग होइन। यसको ‘अन्तिम’ चरित्र अनुभवमा आधारित हुन्छ । हामी बाँच्ने विश्व र हामीले भोग्ने चुनौतीले यसको संरचना र काम गर्ने तरिकामा परिवर्तन ल्याइरहेको छ ।
मस्तिष्कका कतिपय सञ्जाल बालियो भइरहेका हुन्छन् कतिपय मोटा र पातला बन्छन् । मनोरञ्जनका लागि स्क्रीनमा धेरै समय खर्च गर्दा त्यसले मस्तिष्क विकास ढिलो हुने डेस्म्यूजेको तर्क छ ।
मनोरञ्जनका लागि स्क्रीनमा समय बिताउँदा शारिरिक रूपले मस्तिष्कको परिपक्व हुने प्रक्रिया ढिलो हुने पाइएको छ । बालबालिकाको मस्तिष्कलाई त्यसले कमजोर बनाउँछ ।
विद्यालय, बौद्धिक गतिविधि, अध्ययन, सङ्गीत, कला, खेलकुदजस्ता गतिविधिले मनोरञ्जनात्मक स्क्रीनभन्दा धेरै बढी सकारात्मक प्रभाव मस्तिष्कलाई दिन्छन् ।







