मंसिर, १० काठमाडौं । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त रहेको पाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थान पदाधिकारीको मृत्यु भएका कारण पद खाली छ । यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पदाधिकारीको पद खाली हुन पुगेको समेत पाइएको छ ।
गत निर्वाचनमा निर्वाचित मकवानपुर भिमफेदी गाउँपालिका ८ का वडाअध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका पुगेका छन् । घिसिङ अमेरिका हानिएपछि उनको स्थान ०१ भदौ ०७६ देखि रिक्त छ ।
यस्तै, शंखुवासभा खाँदवारी नगरपालिका ५ का वडाअध्यक्ष वम बहादुर घले वडाअध्यक्ष पद त्यागेर जागीर खान भन्दै कोरिया गएका छन् । वडाअध्यक्ष नै कोरिया गएपछि ०७५ मंसिरदेखि खाँदवारी नपा ५ का वडावासी नेतृत्व विहिन छन् ।
तनहुँको भानु नगरपालिकाका ५ वडाअध्यक्ष प्रकाश मल्ल नागरिकता किर्ते अभियोगमा जेल परेका छन् । जनप्रतिनिधि नै किर्ते नागरिकता दिलाउने कार्यमा संलग्न भएपछि मल्लको पद गयो र २२ भदौ ०७७ देखि उनको स्थान खाली छ ।
रुपन्देही सम्मरीमाई गाउँपालिका ५ का श्रवण कुमार यादव भ्रष्टाचारको अभियोगमा निलम्बित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा यादवलाई निलम्बित भएपछि सम्मरीमाई गापा ५ का वडाबासी पनि ९ चैत ०७६ देखि नेतृत्व विहिन छन् ।
यस्तै, पाल्पाका जिल्ला समन्वय समितिका प्रमुख दयाराज वस्यालको निधन भएपछि उनको स्थान ०५ मंसिर ०७६ देखि खाली छ ।
संघीय मामिला मन्त्रालयले गत कार्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्र पठाएर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।
हालसम्म ६१ जिल्लाबाट मात्र विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसमा २१ जिल्लाका बिभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको पाइएको मन्त्रालयले जनाएको छ ।
‘बाँकी जिल्लामा रिक्त नभएर नआएको हुन सक्छ । तथापि हामीले पुनः पत्र पठाएका छौं’ मन्त्रालयका शाखा अधिकृत महेश कुमार दाहालले जानकारी दिए ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहमा पदाधिकारीहरु रिक्त छन् । लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ ।
प्रदेश नम्बर एकको चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । प्रदेश दुईका दुई र बागमती प्रदेशमा दुई/दुई जिल्लाका चार/चार स्थानीय तहका चार/चार वटा वडाअध्यक्षको पद खाली छ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको दुई÷दुई जिल्लाका दुई/दुई स्थानीय तहका दुई÷दुई वटा वडाअध्यक्षको पद खाली छ ।
रिक्त पदमा उपनिर्वाचन कहिले ?
गत कार्तिक पहिलो साता निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदको संख्या र स्थान मन्त्रालयसँग माग गरेको थियो ।
सोही अनुसार संघीय मामिला मन्त्रालयले विवरण संकलन गरिरहेको छ । विवरण संकलन गरेर निर्वाच्न आयोगमा पठाइने मन्त्रालयले जनाएको छ ।
उपनिर्वाचनको पूर्व तयारी स्वरुप स्थानीय तहका पदाधिकारीहरुको रिक्त रहेको पद र स्थानको विवरण संकलन गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
‘निर्वाचन गर्ने कि नगर्ने भन्ने सरकारको कुरा हो । परामर्श आयोगको लिने आफ्नो ठाउँमा छ’ श्रेष्ठले अनलाइनखबरसंग भने, ‘तर, कुन–कुन ठाउँमा रिक्त छ भनेर पूर्व तयारीका लागि आयोगले विवरण सरकारसंग माग गरेको हो ।’
सरकारले यसअघि ०७६ संसिरमा रिक्त भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । त्यसबेला दाङ र भक्तपुरमा प्रदेशसभा तथा कास्कीमा प्रतिनिधिसभाको उपनिर्वाचन भएको थियो ।
धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।







