जन्ती बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु

मंसिर १३, रुकुम ।
जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ ।

आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जीप शुक्रबार राति दुर्घटना हुँदा आठबीसकोटका चार जनाको ज्यान गएको हो ।

मृतकमा ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपाली रहेको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको उनले जानकारी दिए । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् । (रासस)