जम्मु कश्मिरमा भएको भीडन्तमा नेपालीको मृत्यु

मंसिर १३, काठमाडौं ।
भारत र पाकिस्तानको सिमाना जम्मु कश्मिरमा भएको दुई देशका सैनिकबीचको भिडन्तमा एक जना नेपालीको मृत्यु भएको छ ।

पाकिस्तानतर्फबाट चलेको गोली लागेर भारतीय सेनामा कार्यरत नेपाली नागरिक प्रेमबहादुर खत्रीको मृत्यु भएको छ । दुईतर्फी गोली हानाहानमा नायक खत्रीसहित राइफलम्या सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत खत्रीका श्रीमती, सात वर्षीय छोरी र पाँच वर्षीय छोरा छन् ।

गत असारमा जम्मु–कश्मीरमै भारतीय सेनामा कार्यरत नेपालीहरू सम्बुर गुरुङ र दीपक कार्कीको तथा २०७६ कात्तिकमा गामिलकुमार श्रेष्ठको ज्यान गएको थियो ।