२९ जेठ, काठमाडौं । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सीसीएमसी)ले हिजो बुधबार स्वास्थ्य कार्यालय गोरखालाई कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामसम्बन्धी स्वास्थ्य उपकरण प्रदान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) आफैले स्वास्थ्य उपकरणको ढुवानी खर्च व्यहोरेर स्वास्थ्य कार्यालय गोरखाका लागि स्वास्थ्य सामग्री पठाएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य परीक्षण केन्द्रबाट आएका खेमराज सापकोटासहितको टोलीले सो सामग्री जिल्लास्तरको कोरोना विपद व्यवस्थापन केन्द्र(डिसिएमसी)लाई सो सामग्री हस्तान्तरण गरेको थियो ।
फेस मास्क ११५ थान, सर्जिकल मास्क २७ हजार थान, इक्जामिनेशन(लुज) ग्लोब्स १४ हजार पाँचसय थान, गमबुट ५३ जोर, इन्फ्रारेड थर्मोमिटर १० थान प्रदान गरिएको छ ।
त्यस्तै फेससिल्ड १५३ थान, सेफ्टी गगल्स सातसय ६५ थान, गगल्स पोलिकार्वोनेट(रियुजेबल्स) एकसय दुई थान, डिस्पोजेबल गाउन एकहजार चारसय ४० थान, पिपिई एकहजार तीनसय थान, डिस्पोजेबल क्याप एकहजार ४० थान, बायोहजर्ड ब्याग ७० थान प्रदान गरिएको सो टोलीमा सहभागी सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
उक्त सामाग्री नेकपा जिल्ला इन्चार्ज कृष्ण धितालले गोर्खाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल लाई हस्तान्तरण गरे । गोर्खा जिल्ला सुरक्षा निकायका प्रमुखहरु, जिल्ला जनस्वास्थ्य प्रमुख , नेपाली काङ्रेस जिल्ला सभापती हरी घले, नेकपा जिल्ला सदस्य यादव बस्नेत लगायतको उपस्थितीमा उक्त सामग्री हस्तान्तरण भएको थियो ।
नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठको पहलमा उक्त सामग्री सिधै गोर्खा पठाइएको थियो । सामग्री ढुवानीको बन्दोबस्तो समेत नारायणकाजी श्रेष्ठको सचिवालयले नै गरेको थियो ।
पछिल्लो दिन गोर्खामा द्रुत रुपमा कोभिड -१९ संक्रमण बढ्न थालेको र जिल्लामा स्वास्थ्य सामग्रीको कमी हुन थालेकोले श्रेष्ठको बिशेस पहलमा उक्त सामग्रीहरु पठाइएको थियो ।
केही समय पहिले श्रेष्ठकै पहलमा गोर्खा जिल्लाका पालुङ्टार नगरपालिका, सिरान्चोक गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक-सुलिकोट गाउँपालिकाका साथै आँपपिपल हस्पिटल र जौबारी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।










