आँखा शिविरमा तीन सयभन्दा बढीले उपचार गराए

मंसिर १४, सप्तरी ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा एक दिने आँखा शिविरमा तीन सयभन्दा बढीको उपचार गरिएको छ ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा शहीद प्रभुनारायण स्मृति ट्रष्टले शनिबार एक दिने आँखा शिविर आयोजना गरेको हो ।

शिविरमा ३ सय १५ आँखा रोगीको परीक्षण गरिएको ट्रष्टका सचिव भगवानलाल यादवले जानकारी दिए । आँखा शिविरमा परीक्षण गरिएकामध्ये १ सय ६५ जनामा मोतियाविन्दु फेला परेको बताइएको छ ।

मोतियाविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको ट्रष्टले जनाएको छ ।