अवस्था सहज भए मात्रै हल खोल्न महानायकको सुझाव

मंसिर १४, काठमाडौं ।
बहुसंख्यक चलचित्रकर्मीहरुले चलचित्र हल खोल्नुपर्ने माग गरिरहेका छन् । चलचित्र क्षेत्रलाई चलायमान राख्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

तर, महानायक राजेश हमालले भने हल खोल्नु अगाडि संयमता अपनाउनुपर्ने बताएका छन् । मिडिया कुराकानीका क्रममा नायक हमालले भने, ‘चलचित्र हल, चलचित्र निर्माण र प्रदर्शन सुचारु गर्नुपर्छ । तर, जबरजस्ती गर्नु पनि हुँदैन । अहिले हामीलाई स्थिती सहज लागेपनि त्यस्तो छैन । यसमा संयमता अपनाउन आवश्यक छ ।’

हमालले जबरजस्ती अहिले हल खोल्दा भोलीका दिन संक्रमण फैलियो भने त्यसले समस्या निम्त्याउने पनि तर्क गरेका छ । उनले सहज भएको अवस्थामा खोल्नुपर्ने तर्क गरे ।

हमालले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहँदा विभिन्न खालका टिप्पणी पनि भइरहेका छन् । तर, नायक हमाल भने म्यूजिक भिडियो आफ्नो विधा नभएको बताउँछन् ।

उनले, आफू चलचित्रको कलाकार भएकाले म्यूजिक भिडियो नियमित नगर्ने पनि उल्लेख गरेका छन् । उनले कुनै चलचित्रको काम सुरु भएपछि आफू त्यता लाग्ने पनि उल्लेख गरे ।

कहिलेकाँही म्यूजिक भिडियोमा काम गर्दा रमाइलो लाग्ने हमालको भनाई छ ।