मंसिर १८, काठमाडौं ।
उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् ।
संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् । उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफ्ना गुनासा राखेका थिए ।
आफूहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन उनीहरूले माग गरेका छन् । अर्थमन्त्रालयमा भएको भेटमा पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताएका थिए ।
पौडेलले गुनासाहरु आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए ।
निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।
कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए । उनले भने, ‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौ ।’
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिएका थिए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ ‘भिजन पेपर’ बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए ।







