मंसिर १९, काठमाडौं ।
झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ ।
बिहीबार दिउँसो उप्रेती सवार मे१ झ१७२ नम्बरको गाडीमा आगो लगाउने प्रयास भएको हो । चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई जिउँदै जलाउने प्रयास भएको उनले बताइन् ।
‘बीच सडकमा गाडी रोकेर उत्रन भने, म उत्रिनँ,’ उनले भनिन्, ‘पानीको बोतलमा पेट्रोल ल्याएका रहेछन् । मभित्र थिएँ । पेट्रोल छर्किएर सलाई कोर्दा कोर्दै उम्किएँ ।’
पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर आगो लगाउने प्रयास भएको उनको भनाइ छ । ‘सरकारी गाडी जलाउने कार्यक्रम छ भन्दै पेट्रोल छर्किए,’ उनले भनिन्, ‘गाडी अगाडि एउटा मोटरसाइकलले बाटो छेकिएको थियो । जबरजस्ती उम्किएर प्रहरीलाई फोन गरेँ ।’
आफू सवार गाडीमा कसले किन आगजनी गर्न खोजेको भन्नेबारे जानकारी नभएको उनले बताइन् । गाडी अगाडि मोटरसाइकल रोकिएका कारण दुई जनालाई मात्र देखेको उनले बताइन् ।
उपमेयर सवार सवारीमा आगजनी प्रयास भएको घटनाको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।
उपमेयरले दिएको हुलियाका आधारमा घटनामा संलग्नहरुको खोजी सुरु गरेको उनले बताए । ‘दुई जना सहभागी भएको जानकारी आएको छ,’ उनले भने, ‘अनुसन्धान गर्दैछौं ।’
प्रहरी स्रोतका अनुसार तनहुमा कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ परेको विरोधमा झापामा नेपाल विद्यार्थी संघले आन्दोलन गर्ने कार्यक्रम तय भएको थियो । घटनामा नेविसंघका कार्यकर्ता सहभागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।







