गत वर्षभन्दा डेढ गुणाले बढ्यो चामल आयात

मंसिर १९, काठमाडौं ।
नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरेको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चामलको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो ।

यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन (१९ करोड ८३ लाख किलो) चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले यो गत वर्षको यसै अवधिको तुलनामा १२० प्रतिशतले बढी रहेको बताए ।

गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको थियो । यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसक्यो । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।

अर्थविदहरु चिन्ता मात्रै गरेर बस्ने तर कृषि क्षेत्रमा लगानी नगर्ने सरकार र निजी क्षेत्रको प्रवृत्तिका कारण चामल आयातमा निरन्तर वृद्धि भएको बताउँछन् । लगानी, अनुदान लगायत सुविधा दिएर कृषकलाई प्रोत्साहन नगरेसम्म चामल आयात बढिरहने उनीहरुको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक दाहाल सीमामा कडाइ गर्दा विगतमा जस्तो अवैध रुपमा भित्रिने चामल पनि भन्सार नाका हुँदै आएकोले आयात बढेको देखिएको हुनसक्ने बताउँछन् । ब्यापारीहरुले महामारीमा आयात गर्न असहज हुने देखेर एकैपटक आयात गरेको ल्याएको पनि हुनसक्ने विभागको आँकलन छ ।

‘साना भन्सार नाकाहरुबाट पनि चामल आयात बढेको छ,’ दाहाल भन्छन्, ‘सीमामा गरेको कडाइको प्रभाव तथ्यांकमा देखिएको हुनसक्छ ।’