मंसिर १९, काठमाडौं ।
समुद्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले भाडादर तीन गुणासम्म बढाएपछि औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्य बढेको छ ।
कोभिडका कारण पानीजहाज, कन्टेनर र ढुवानीकर्मीसमेतको उपलब्धता कम भएपछि सिपिङ एजेन्सीहरूले भाडादरमा वृद्धि गरेका हुन् । पूर्वाञ्चल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट कोलकाता बन्दरगाहमा २० फिटे कन्टेनरमा मालवस्तु ल्याएको भाडादर २ महिनाअघि सम्म ८ सय देखि ९ सय डलर भएकोमा अहिले २७ सय डलर पुगिसकेको जानकारी दिए ।
राठी प्लास्टिक भाँडाकुँडा तथा अन्य सामग्री उत्पादन गर्ने स्वस्तिक पोलिमर नामको उद्योगका सञ्चालक पनि हुन् । ‘कोरोना महाव्याधिका कारण प्लास्टिक दानाको मूल्यमा पनि वृद्धि भएको छ’, उनले भने, ‘पिपिई, मास्क, स्यानिटाइजरका कन्टेनर, पञ्जा आदिको खपत बढेसँगै प्लास्टिकका सामग्रीको खपत बढेपछि प्लास्टिक दाना पनि महँगो भएको हो । त्यसमा पनि सिपिङ एजेन्सीहरूले भाडादरमा तीन गुणासम्म वृद्धि गरेपछि उत्पादन लागत बढेको छ ।’
हुलास वायर इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मुकेश कोठारीका अनुसार चीनको निम्बोबाट कोलकाता बन्दरगाहसम्म आउने कन्टेनरलाई २ महिनाअघिसम्म २ हजार २ सय डलर भाडा तिर्नुपथ्र्यो। अहिले ६ हजार डलर भएको छ । त्यस्तै थाईल्यान्डबाट कोलकाता बन्दरगाहसम्म आउने कन्टेनरको भाडादर पनि ८ सयबाट २ हजार ५ सय डलर भएको छ ।
हाइलाइफ चप्पलका निर्माता सुरभी पोलिमर्सका सञ्चालक विकास चौधरीले भने, ‘हामी सिङ्गापुर र मलेसियाबाट कोलकाता बन्दरगाहसम्म प्रति टन १ सय डलर भाडा तिरेर कच्चा सामग्री मगाइरहेका थियौँ । दुई महिनायता भाडादर बढ्दै–बढ्दै प्रति टन ३ सय डलर भएको छ ।’
मोरङ व्यापार सङ्घका उपाध्यक्ष अनुपम राठीका अनुसार कोभिड कहरपछि भारतबाट हुने निकासीमा ह्रास आउँदा भारतका विभिन्न बन्दरगाहमा खाली कन्टेनर ठूलो मात्रामा थन्किएर बसेका छन् ।
त्यस्तै कतिपय स्थानमा जहाज र जहाजका कामदारलाई क्वारेन्टाइनमा राखिने गरेका कारण तिनको उपलब्धता कम हुँदै गएको छ । कन्टेनर उत्पादन कम्पनीहरूले पनि कोरोना महाव्याधिका कारण उत्पादनमा कटौती गरेका छन् ।
उपाध्यक्ष राठीले कोभिड कहरपछि सिपिङ कम्पनीहरूले भाडामा कार्टेलिङ गरिरहेका कारणले पनि भाडामा वृद्धि भएको बताए ।
‘चर्को भाडादरका कारण आयातीत हरेक मालवस्तुका मूल्यमा वृद्धि भएको छ र उत्पादन लागत पनि बढेको छ’, उनले भने, ‘त्यसैले अहिले हामीले अत्यन्त सीमित परिमाणमा पैठारी गर्ने अवस्था छ । किनकि भोलि स्थिति सामान्य हुनेबित्तिकै भाडादरमा पनि ह्रास आउँछ र मालवस्तु सस्ता हुन्छन् । त्यस बेला अहिले महँगोमा पैठारी गरिएका मालवस्तु सस्तोमा विक्री गर्नुपर्ने हुनसक्छ ।’







