ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

२९ जेठ, काठमाडौं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए ।

एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले उल्लेख गरे। सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए ।

उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए । उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क रु ५० लाग्ने व्यवस्था गरिएको छ ।