मंसिर १९, चितवन ।
विश्वकै दुर्लभ एकसिङ्गे गैंडा मार्ने व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । फरार रहेका ‘सार्प सुटर’लाई निकुञ्ज प्रशासनले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
जिल्ला अदालत चितवनबाट २०६२ साल असारमा गैंडा मारेको अभियोगमा १५ बर्ष कैद सजाय सुनाइएका साविक गुञ्जनगर गाविस ३ का ३६ वर्षीय सूर्य महतो भनिने सुरज चौधरीलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
उनलाई पूर्वी चितवनको राप्ती नगरपालिका खुरखुरेबाट पक्राउ गरिएको हो । उनको समूहले निकुञ्जको सिसुवार पोष्ट नजिक गैंडालाई तीन गोली हानेर मारेको थियो ।
उनीहरू खाग बेचेर फरार भएका थिए । पक्राउ परेका चौधरीलाई शुक्रबार प्रहरीमा बुझाएर १५ बर्षको सजाय भुक्तानीका लागि कारागार चलान गरिने अधिकारीले बताए ।
पक्राउ परेका चौधरी नेपाली सेनाका भगौडा हुन् । गैंडा तस्करको समूहले उनलाई सार्प सुटरको रूपमा प्रयोग गर्ने गरेका थिए ।
अदालतले सजाय सुनाए पछि उनी तीनपटक कतार पुगेर तीन ठाउँमा बसाइँ सरेका थिए । गुञ्जनगरबाट उनी बसाइँ सर्दै खुरखुरे गएका थिए ।







