बहुउद्देशीय सामुदायिक केन्द्र निर्माण

मंसिर २०, ललितपुर ।
ललितपुर महानगरपालिकामा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ ।

अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) नेपालको प्राविधिक र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख महर्जनले घनाबस्तीका जनतालाई आकस्मिक विपद् पर्दा सो केन्द्र भवनले आश्रयस्थल दिने बताए । राजदूत भोरासफले मुलुकमा छ वर्षअघि भूकम्पका कारण घर भत्किएर खुला चउरमा बस्न बाध्य भएका जनतालाई ध्यानमा राखी भवन निर्माणमा सहयोग गरेको बताएका छन् ।

आइओएमका प्रतिनिधि लोरिना ल्याण्डोले कठिन समयका कारण बाध्यात्मकरुपमा बसाइसराइ गर्नुपर्ने मानिसलाई सो भवनले अभिभावकको सहारा दिने धारणा राखिन् । वडाध्यक्ष अम्बिराज शाक्यले करिब १३ रोपनी सार्वजनिक जग्गाभित्र निर्माण भएको सो भवनका लागि आवश्यक खानेपानी, बत्ती र सरसफाइको सम्पूर्ण जिम्मेवारी वडाले लिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेले विपद् आश्रमस्थल अर्थात् केन्द्रको शिलान्यास २०७५ साल माघ ७ गते गरेको र मुलुकमा देखिएको कोराना कहरका कारण भवन निर्माणको काम भने एक वर्ष १० महिनामा सम्पन्न भएको जानकारी दिए ।

‘यस भवन निर्माणका लागि रु एक करोड तीन लाख ९२ हजार ९ सय १२ खर्च भयो । महानगरपालिकाका अन्य घनाबस्ती भएका स्थान हरिसिद्धि, धापाखेल, सुनाकोठी आदिमा पनि एक आश्रमस्थल बनाउन जरुरी छ,’ उनले भने ।

यसैगरी महानगरपालिकाको वडा नं ८ बालकुमारीस्थित गुइतः दोमारमा अर्काे एक विपद् आश्रमस्थल निर्माण भइसकेको लामिछानेले जानकारी गराए । (रासस)