मंसिर २३, लमजुङ ।
बेंसीसहर नगरपालिका–६ बेलौँतीबिसौनामा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको मर्स्याङ्दीबेंसी जलविद्युत् आयोजनाको निर्माण कार्य रोक्न स्थानीय युवाले माग गरेका छन् ।
युवाहरुले सोमबार बेसीसहरका नगर प्रमुख गुमानसिंह अर्यालललाई ज्ञापन पत्र बुझाउँदै उक्त आयोजना निर्माण कार्य सुरु हुनुअगावै रोक्न माग गरेका हुन् । युवाको नेतृत्व गर्दै बेसीसहरका कुमार अर्यालले मेयर अर्याललाई ज्ञापन पत्र बुझाएका छन् ।
सहरको छेउमा बहने नदीलाई सुरुङभित्र लैजानेगरी विद्युत् उत्पादन गर्नु उपयुक्त नभएकाले निर्माण रोक्न २१ जना युवाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा माग गरिएको छ ।
मर्स्याङ्दी नदीलाई सुरुङभित्र हाल्ने र बेसीसहर बजारको पूर्वपट्टि उभिएको पहाडभित्रबाट सुरुङ निर्माण गर्ने योजना रहेकाले नदीको प्रवाह अवरुद्ध गर्ने र कमजोर पहाडलाई विष्फोटक पदार्थको प्रयोगबाट झन् कमजोर बनाई हजारौं वर्ष पहिलेदेखि बसोबास गर्दै आएका जनताको उठीवास गराउने यो कार्य अमान्य हुने उनीहरुको भनाइ छ ।
धरातललाई खल्बल्याएर पहिरोको जोखिम बढाउने र पुरानो घना बस्तीका जनतालाई पहिरोभित्र विलिन गराइदिने परियोजना युवाका लागि सह्य नभएको ज्ञापन पत्रमा उल्लेख छ ।
आधा पानी मर्स्याङ्दीमै प्रवाहित भइरहनपर्छ भन्ने मान्यता युवाको छ । वैज्ञानिक दृष्टिकोणले वर्तमान सामाजिक आर्थिक दृष्टिकोणले पनि अनुपयुक्त देखिने यस्तो परियोजना विकासको नाममा मानवताविरोधी भएको उनीहरुको ठहर छ ।
मर्स्याङ्दी कै पारिस्थितिक प्रणालीभित्र मानव जीवन सुरक्षित बन्दै गएकाले नदी प्रवाह रोक्नासाथ पारिस्थितिक प्रणाली नष्ट भइ यहांँको जैविक विविधतामा ठूलो ह्रास आउनाले यो अनुपयुक्त भएको पत्रमा उल्लेख छ ।
बेसीसहरको बढ्दो जनसंख्यालाई खानेपानीको आपूर्ति पर्याप्त मात्रामा गर्न मर्स्याङ्दी निर्विकल्प भएकाले यसको प्रवाहलाई कसैले पनि लुटेर पहाडभित्र हाल्न नपाउने युवाहरुको भनाइ छ ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख अर्यालले संघीय सरकारले गरेको कामप्रति स्थानीय सरकारले हस्तक्षेप गर्न नमिल्ने बताए । केन्द्रीय सरकारको नीति नियम र अनुमतिमा हाइड्रो सञ्चालन गर्न थालिएको पनि उनले बताए ।
विकासका क्रममा विनास पनि हुने हुँदा राज्यको नीति निर्देशन तथा सिद्धान्तलाई अनुशरण गर्दै प्रतिनिधिको रुपमा सम्बन्धित निकायमा जानकारी गराउने उनले प्रतिबद्धता जनाएका थिए ।







