मोटरसाइकल चोर्ने १४ जना पक्राउ

मंसिर २३, काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पक्राउ गरेको जनाएको छ ।

महाशाखाको पीडित सहायता इकाइको विशेष टोलीले उपत्यकाको विभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्न विशेष अभियान संचालन गरिरहेकोसमेत बताएको छ ।

जसअनुसार महाशाखाले यस आर्थिक वर्षको पाँच महिनाको अवधिमा उपत्यकाको विभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

सोमबार मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रेको तिमाल घर भई ललितपुर बस्ने सुजन तामाङ्गलाई पक्राउ गरेको छ । वास्तबिक नम्बर प्र.३–०२–००१प९०४१ भइ प्र.३–०२–००३प६५०६ नम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सर सहित पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त मालीगाँउ पठाएको भट्टराइले जानकारी दिए । उक्त मोटरसाइकल सेतोपुलबाट दश दिन अघि मात्र हराएको थियो ।

विशेषगरी काठमाडौँका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ ।

अधिकांश चोरी भएका मोटरसाइकलहरुको वास्तविक नम्बर परिवर्तन गरेको पाइएको छ भने कतिपय पक्राउ परेका मोटरसाईकलको नक्कली ब्लुबुक समेत हुने गरेको पाइएको छ ।