मंसिर, २५ काठमाडौं । आइतबारका लागि संबैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने स्रोतले बतायो।
नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।
ती पदहरुमा कसलाई नियुक्ति गर्ने भन्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल हुँदै आएको थियो ।







