मंसिर, २५ काठमाडौं । महिला सांसदहरुले महिला हिंसा अन्त्यको लगि राजनीतिक पार्टीमा आचारसंहिता जरुरी भएको बताएका छन् ।
आफैँ महिनावारी बार्ने र हिंसा अन्त्यको कुरा गर्ने महिला सांसद, श्रीमती महिनावारी भएको चार दिन भात पकाउँछु भन्ने पुरुष सांसदहरु रहेसम्म महिला हिंसा अन्त्य हुन नसक्ने सांसद बिमला राई पौड्याल बताउँछिन् ।
‘आफैँ हिंसामा पर्ने, हिंसा गर्ने तर, हिंसा रोक्नुपर्छ भनेर वकालत गर्ने प्रवृति सांसदहरुमा छ । यो रोक्नका लागि दलहरुमा आचारसंहिता बनाउन जरुरी’, पौड्यालले भनिन्, ‘आचारसंहिता बनाएर लागू गरौं र त्यसको अनुगमन गरौं ।
बिहीबार ‘लैंगिक न्यायका लागि संघीय सांसद समुह’ले सिंहदरवारमा गरेको एक कार्यक्रममा सांसद पौड्यालले यस्तो बताएकी हुन् ।
कार्यक्रममा सांसद विद्या भट्टराईले महिला हिंसा अन्त्यको विषय राजनीतिक दलहरुको प्राथमिकतामा पर्नु पर्ने बताइन् ।
‘महिला हिंसा दलहरुको कति प्राथमिकतामा परे ? भन्दा त्यस्तो छैन्’ उनले भनिन्, ‘महिला हिंसा र अपराधको विषय दलहरुभित्र अवमुल्यनमा पर्दै आएको छ । यो सबैको साझा मुद्वा हो भन्ने पार्नुपर्ने छ’ उनले भनिन् । विद्यालय तहमा शिक्षक पीडक र विद्यार्थी पीडित हुने गरेको समेत पाइएकाले यसतर्फ समेत ख्याल गरेर अगाडि जानुपर्ने उनको भनाई छ ।
लैंगिक न्यायका लागि संघीय सांसद समुहकी संयोजक विन्दा पाण्डेले महिला हिंसा अन्त्यका लागि बिभिन्न कानुनहरुम सुधारको खाँचो औंल्याइन् ।
स्थानीय तहको चुनाव आउन लागेका कारण त्यसलाई समेत ख्याल गरेर महिला प्रतिनिधित्वको सुनिश्चितता थप गर्ने गरी निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न बहस चलाउन आवश्यक रहेको उनको भनाई छ ।
सांसद अनिता देवकोटाले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन दबाद दिनुपर्ने बताइन् ।
पुरुष नेताले टर्चर दिन थाले : सभापति खरेल
संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रत्यक्ष निर्वाचित सांसदलाई सम्बन्धित क्षेत्रका पुरुष नेताहरुले अर्को पटक चुनावमा आफु उठ्नका लागि टर्चर दिन थालेको गूनासो गरेकी छन् ।
खरेल झापा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले आफैँलाई टर्चर दिएको वा अरुलाई भन्नेमा केही खुलाइनन् ।
उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित भएर आएका महिला सांसदलाई पुरुष नेताले टर्चर दिन थाले । बिभिन्न प्रलोभन देखाएर महिला सांसद विरुद्ध लाग्ने यो महिलामाथिको राजनीतिक हिंसा हो ।’







