कुश्मामा पहिरोले पुरिएर ५ को मृत्यु, ४ बेपत्ता

३२ जेठ, काठमाडौं । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको काफलडाँडा भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५ जनाको मृत्यु र ४ बेपत्ता भएका छन् ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५५ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा, उनकी नातिनी बर्ष ८ की दिबिसा थापा, दिपा थापा र अर्को एउटा शव फेला परेको हो । थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन् । उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको सशस्त्र प्रहरी बल, चन्डिका गण, पर्बतले जानकारी दिए । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो ।

पहिरोले उनीहरुका घरमा रहेका अन्य पशु चौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ ।