कुरा म कक्षा ७ वा ८ पढ्दै गर्दाको हो । म बालाजु बाईपासमा बस्ने हुँदा हाम्रो घर अगाडीको सडक हुँदै नागार्जुन दरबार जानु पर्दछ । नागार्जुन डाँडाको रानीवन मुनी बाईपासमा बसिए पनि माथि रहेको नागार्जुन दरबारको नाम मात्र सुनिएकोले ति बारे अनेक हल्ला हामी साथीहरु माझ व्याप्त थियो । दरबार यस्तो, दरबार उस्तो तर आखिरमा कस्तो कस्तो ? हाम्रो कल्पनामा मात्र सिमित थियो ।
दरबार नदेखे पनि तिनमा आउ जाउ गर्ने राजपरिवारका सदस्यको दर्शन चाँही बारम्बार हुने गर्दथ्यो । कहिले औपचारिक कारगेड सवारी त कहिले अनौपचारिक । कारगेड सवारी हुन लाग्दा सबै गाडी रोकिन्थे, पसल खोलिए पनि बाटाघाटामा हिँडडुल बन्द हुन्थ्यो, बाईपासको एक कुनामा भीड जम्मा भईहाल्थ्यो । जे होस् हामीले आफ्नै आगनमा बारम्बार यस्तो रमाइलो सवारी देख्न पाउँथ्यौं । तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य त हाम्रै टोलको हो जस्तो पनि लाग्ने । युवराज दिपेन्द्रलाई अलिक बेसी र निराजन पनि आक्कल झुक्कल देखिन्थे । तर राजकुमारी श्रुतिलाई स्पष्ट देख्न पार्ईएन ।
कालो सिसाले टलक्क टल्किएको त्यो कालो कारहरुको माझ अझ बढी राम्रा, चिल्लो र चम्किलो कालो गाडीमा श्री ५ हरुको सवारी हुन्थ्यो । अगाडीको सिसा पारदर्शी र ढोका र पछाडी पट्टीका सिसा कालो हुन्थे । राजा वीरेन्द्र आफै गाडी चलाउँथे भने रानी ऐश्वर्य उनीसँगै हुन्थिन् । श्रुति पछाडी बस्थिन कि भन्ने अनुमान छ तर स्पष्ट मैले देखिन । राजा वीरेन्द्र प्राय ढाका टोपीमा र रानी गुजमुज्ज स्टाईलको कपालमा, तस्वीरमा देखिने झैं हुन्थे । राजालाई भगवान विष्णुको अवतार मान्ने व्याप्त त्यो युगमा राजारानीको त्यो २-४ सेकेण्डको दर्शन सवारी हेर्न जम्मा हुने सयौंको लागि दुर्लभ क्षण हुन्थ्यो ।
औपचारिक सवारीको रमाइलो जति भए पनि, अनौपचारिक सवारी झनै रमाइलो हुन्थ्यो । देख्नेले देखि हाल्ने, नदेख्नेले पत्तै नपाउने । विशेषत नागार्जुन दरबार जाँदा औपचारिक सवारी हुने र फर्कदा अधिकतम अनौपचारिक हुने मेरो अनुमान छ । दिपेन्द्रको गाढा सुनौलो रंगको जीप थियो र उनी अनौपचारिक रुपमा आउँदा कहिले काही जाममा फस्थे । जाममा फस्दा उनका सहयोगी गाडीबाट निस्कदै पटक पटक जाम खुलाउन ओर्लिन्थे । दिपन्द्र बारम्बार एक्लै केही सहयोगीका साथ आउने जाने गर्दथे । जाममा फस्दा हँसिलो र कति पटक आफै जाममा फसेका अरु गाडीलाई हात हल्लाउँदै यसो उसो गर्न संकेत दिन्थे । त्यसै गरि निराजनको कालो जीप थियोे जस्तो लाग्छ र उनलाई मैले कमै देखे ।
प्राय ट्राफिक नबस्ने बालाजु बाईपासमा राजारानी नागार्जुन दरबार बस्न आउन साथ ट्राफिक र प्रहरीको डियुटी शुरु हुन्थ्यो । त्यसै गरि फुलबारी गेट, नागार्जुन छिर्ने प्रमुख गेटमा समेत ट्राफिक खटिन्थे । गर्मी शुरु हुना साथ राजपरिवारका सदस्यको चहलपहल यस क्षेत्रमा बढी हुने भएकोले सुरक्षा सतर्कता पनि हल्का बढिहाल्थ्यो र हाम्रो डर पनि । डर यस मानेमा कि कहिल्यै प्रहरी र ट्राफिक नबस्ने ठाउँमा यिनको उपस्थितिले अलिक उकुसमुकुस हुने र हल्का गस्ती बढ्ने गर्नाले ।
त्यो बेला हामी केटाकेटी सडकमै चुंगी, गुच्चा, रिठ्ठा र अनेक उपलब्ध सामानको जोहो गर्दै खेल्थ्यौ । पढाई, खवाई, खेलाई, सुताई त्यो बेलाको सामान्य दैनिकीमा म व्यस्त नै थिए । एक शनिबारे बिदामा बिहान ८ बजे तिर म मेरो चुंगी लिएर घर बाहिर एक साथीसँग खेल्न निस्किए । सडक छेउमा उ र म खेल्दै थियो, चुंगी पनि भिजेर अलिक हिलो लागेको र हल्का गर्हौं भइसकेको थियो । करिब २० वा २५ को राउण्ड थियो होला । म एक, दुई गन्दै राउण्ड पुरा गरेर अन्तिम स्टेपमा चुंगीलाई ब्याक किक हानेर पर फाल्दै थिए । त्यही बेला वन तिरबाट केही कारहरु तल आउँदै रहेछन् । र त्यही बेला जब मैले त्यो चुंगीलाई ब्याक किक हाने, त्यो हिलो लागेको चुंगी सडकको बीच तिर उडेर वन तिरबाट आइरहेको एउटा कालो कारको हुडमा वाईपरहरुको बीचमा गएर टक्क बस्यो । हिलो लागेको चुंगी ठ्याच्च बस्दा हिलोको छिट्टा फैलिन गई त्यो कालो कारको अगाडीको सिसा मुनि हुडमा भद्दा हिलोको टिका लगाई दिए झै भयो ।

त्यो कार कालो चम्किलो, त्यसको अगाडी पनि एउटा कालो कार पछाडी पनि अर्को कालो कार थियो । चुपचाप बिना साईरन आइरहेको त्यो सवारीको तीन वटा कार मध्ये बीचको राम्रो र ठ्याक्कै अगाडीको सिसा मुनी वाईपर बीच मेरो चुंगीको ल्याडिंग हुनु हजार सम्भावनाहरु मध्ये एक हुनु पर्दछ ।
चुंगीको ल्याडिंगसँगै त्यो कालो कार टक्क रोकियो, सँगसँगै अगाडी र पछाडीको कारहरु पनि । म त्यो बेला निकै जिल्लिए । मेरो अनुमानमा अब पक्कै अगाडी वा पछाडीको कुनै कारबाट कोही निस्केर मलाई समातेर, घिसारेर त्यही कारभित्र कोचेर लग्ने छन् भन्ने भयो । तर अचम्म, कोही निस्केनन्, करिब ५-६ सेकेण्ड त्यो कारहरु रोकिरहँदा मलाई कता कता गएर चुंगी निकालौ कि भन्ने भइरह्यो तर केही क्षण पछि त्यो कारहरुको लस्कर सररर अगाडी बढ्यो र मेरो चुंगी तिनीहरु सँगै गए । म वाल्ल परेर हेरिरहे ।
त्यो बीचको कारमा को थियो म विश्वस्त भएर त भन्न सक्दिन तर पक्कै राजपरिवारको ठूलै मान्छे सवार थिए भन्ने लाग्छ । जहाँसम्म लाग्छ रानी थिईन् कि भन्ने अनुमान हो । त्यो चुंगी बाईपासबाट नारायणहिटी छिर्यो कि, बाटोमा खस्यो कि केही पत्तो नपाए पनि एक पसलवाला अंकल (उहाँको आज पनि त्यही पसल छ) ले अब तिमीहरुलाई पुलिस आएर समात्छ भन्दा हाम्रो सातो पुत्लो उड्यो । तर भाग्यवस् न पुलिस आए न केही भयो ।
यो घटनाको केही वर्ष पछि म एस्.एल्.सी. दिएर बिदामा बस्दा मेलै देख्दै आएका राजपरिवारको सामूहिक हत्या भयो र ति सदाका लागि बिदा भए । हाम्रो तिर पछि केही वर्ष राजा ज्ञानेन्द्र र रानी कोमलको पनि त्यसै गरि सवारी हुन्थ्यो, दिपेन्द्रको त्यो गाढा सुनौलो रंगको जीप पनि बारम्बार कुदि नै रह्यो । त्यसको केही वर्षमा जनआन्दोलनले देश गणतन्त्रिय शासन व्यवस्थामा प्रवेश गरे सँगै हाम्रो तिर हुने भव्य राजकीय सवारीले बिट मार्यो ।
आज पनि नागार्जुन दरवार त्यही छ र सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई त्यसको उपभोग गर्न छुट दिएको सुन्छु । एकदिन नारायणहिटी दरबार झैं नागार्जुन दरबार पनि सर्वसाधारणको लागि खुला हुनेछ भन्ने लाग्दछ र त्यो भएमा म अवश्य त्यहाँ पुग्नेछु ।


रविन्द्र श्रेष्ठ




