मंसिर २८, काठमाडौं ।
प्रधामनन्त्री केपी शर्मा ओलीद्वारा आइतबारलाई तय गरिएको संवैधानिक परिषद्को बैठक सर्ने पक्कापक्कि भएको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक दुई–तीन दिनलाई सार्न प्रधानमन्त्री ओलीलाई सन्देश पठाइसकेका छन् ।
काँग्रेस नेता रमेश लेखकले पनि भोलिको बैठक सर्ने सम्भावना रहेको बताए । प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेलाई परिषद्को बैठक बोलाएका थिए ।
तर शनिबार देउवाले आइतबारको बैठकमा केही दिन सारिदिन आग्रह गरेको बुझिएको छ ।
काँग्रेसले २९ मंसिरमा ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले बोलाएको परिषद्को बैठकमा नजान पार्टीका नेताहरुबाट दबाब आएपछि देउवाले यस्तो आग्रह गरिएको बताइएको छ ।
शनिबार बसेको काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकमा नेताहरुले विरोध प्रदर्शनको अघिल्लो दिन संवैधानिक परिषद्को बैठकमा जानु उपयुक्त नहुने देउवालाई सुझाव दिएका थिए ।
प्रदर्शनको तयारीको रहेका बेला शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको भेटवार्ताप्रति पनि नेताहरुले असन्तुष्टि जनाएका थिए ।
आजको बैठकमा आफू आउन नसक्ने जनाउँदै देउवाले बैठक केही दिन सारिदिन आग्रह गरे पनि प्रधानमन्त्रीको सचिवालयबाट अहिलेसम्म बैठक स्थगित भएको सूचना भने जारी भएको छैन । यद्यपि प्रधानमन्त्री ओलीको तर्फबाट बैठक सार्ने छनक पाएको कांग्रेस नेता रमेश लेखकको भनाइ छ ।
संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अधिकार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्लाई हुन्छ ।







