उत्खनन् खोल्न स्थानीय तहको माग

पुष १, काठमाडौं ।
स्थानीय तहहरूले ढुंगा, गिटी, बालुवा, माटोजन्य पदार्थ उत्खनन् खुल्ला गर्न माग गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति (जिसस) महासंघले मंगलबार संयुक्त रुपमा नदीजन्य पदार्थ निर्वाध रुपमा उत्खनन गर्न पाउनुपर्ने माग गरेका हुन् ।

गृह मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन्, संकलन, बिक्री वितरणमा रोक लगाउन मातहतका निकायमा गरेको परिपत्रले स्थानीय तहको आय स्रोतमा असर परेको उनीहरूको दाबी छ ।

गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु र जिसस महासंघकी अध्यक्ष सीता सुन्दासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयले जारी गरेको निर्देशनले निकासी ठप्प हुँदा आन्तरिक आय संकलनमा धेरै असर पर्ने तथा प्रमुख निर्माण सामग्रीको रुपमा रहेको नदीजन्य पदार्थलाई रोक्दा साना ठूला सबै प्रकारका विकास आयोजनाहरूमा प्रत्यक्ष असर पर्ने हुँदा हाल गरिएको अवरोधलाई खुला गराउन जोडदार माग गर्दछौं ।’