पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने कानून ल्याइयो

पुष १, काठमाडौं ।
पाकिस्तानमा बलात्कारको घटनासँग जुध्नका लागि एक नयाँ कानून ल्याइएको छ जसको उद्देश्य मुद्दाको चाँडोभन्दा चाँडो सुनुवाई र कडा सजायको प्रावधान गर्नु रहेको बताइएको छ ।

कडा सजायअन्तर्गत बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई केमिकल क्यास्ट्रेशन अर्थात् रसायनको प्रयोगले नपुंसक बनाउनु हो । मंगलबार पाकिस्तानका राष्ट्रपतिले यो नयाँ बलात्कार सम्बन्धि कानूनमाथि हस्ताक्षर गरेका छन् ।

यो अध्यादेशअन्तर्गत यौन अपराधमा समावेश मानिसहरुको नेशनल रजिस्टर तयार गरिनेछ र पीडितको पहिचान गोप्य राख्ने निर्णय पनि गरिएको छ । साथै केही अपराधीलाई औषधी दिएर उनीहरुलाई नपुंसक बनाउने निर्णय पनि गरिएको छ ।

यस्ता घटनाको सुनुवाईका लागि स्पेशल फास्ट ट्र्याक कोर्टको गठन गरिनेछ र यस्ता घटनाको अदालतमा चार महिनामा सुनुवाई पूरा गरेर निर्णय सुनाइनेछ ।

लाहौर शहर बाहिर एक महिलामाथि भएको सामुहिक बलात्कारको घटना पछि पाकिस्तानमा यौन अपराधविरुद्ध जुन प्रकारको माहौल बनेको थियो, यो कानून त्यसैलाई मध्यनजर गर्दै ल्याइएको हो ।

यी महिला आफ्ना दुई सन्तानसहित लाहौरतर्फ आइरहेकी थिइन्, त्यति नै बेला हाईवेको किनारमा उनीमाथि हमला गरिएको थियो । घटना हुँदा महिलाका दुवै सन्तान त्यहिँ थिए ।

लाहौरका सबैभन्दा ठूला प्रहरी अधिकारीले घटना भएको भोलिपल्टै पीडित महिला पनि आफ्नो सामूहिक बलात्कार लागि केही हदसम्म जिम्मेवार भएको बताएका थिए । उनको टिप्पणी र यो बर्बर घटनाले आम पाकिस्तानीलाई उद्वेलित गरिदिएको थियो । त्यसपछि देशभरी प्रदर्शन भए र सरकारले कडा कदम उठाउने बचन दियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र उनको मन्त्रीमण्डललले गत महिना यो अध्यादेशलाई मञ्जुरी दिएको थियो । देशका राष्ट्रपति आरिफ अल्वीले मंगलबार यो अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।

इमरान खानको सरकारसँग अब १ सय २० दिनको समय छ र यतिदिन भित्र उनले यो कानूनलाई संसदको सामुन्ने राख्नुपर्ने हुन्छ ता कि यसलाई स्थायी कानूनको दर्जा दिन सकियोस् । त्यतिबेलासम्म यहि कानून लागू हुनेछ ।

यद्यपि, पाकिस्तानमा यस्ता मानिसहरु पनि छन् जसले यो कानूनको आलोचना गरिरहेका छन् । उनीहरुका अनुसार सजाय निकै कडा छ र सरकारी अधिकारीले यो तयार गर्नु अघि आवश्यक विचार–विमर्शको प्रक्रियाको पालना गरेका छैनन् ।

संसारका केही अन्य मुलुकमा केमिकल क्यास्ट्रेशन अर्थात् औषधी दिएर नपुंसक बनाउने प्रावधान छ । यौन अपराधीको मामिलामा यसको उद्देश्य औषधीमार्फत् टेस्टोस्टेरोन हर्मोन कम गर्नु हो ।

सन् २०१६ मा इन्डोनेसियाले बालबालिकाविरुद्ध यौन अपराध गर्नेहरुका लागि केमिकल क्यास्ट्रेशनको प्रावधान लागू गरेको थियो । सन् २००९ मा पोल्याण्डले बालबालिकाको बलात्कार गर्ने वयस्कका लागि यसलाई अनिवार्य रुपमा लागू गरेको थियो । (बिबिसी)