पुष ४, काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद भइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड र माधव नेपालले बोलाएपछि शुक्रबार अपरान्ह ४ बजे पौडेल भेट्न पुगेका थिए । स्रोतका अनुसार उनीहरूबीच प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले चाल्न सक्ने सम्भावित कदमबारे केन्द्रीत रहेर छलफल भएको छ ।
प्रचण्ड–नेपालले पौडेलसँग करिब एक घण्टा कुराकानी गरेका हुन् । उक्त भेट मुख्यगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाप्रति केन्द्रीत रहेको स्रोतको दाबी छ ।
‘प्रचण्ड र नेता नेपालले सभापति देउवाको भूमिकाप्रति हामीलाई धेरै शंका छ भन्ने ढंगको कुरा राख्नुभएको छ । देउवालाई दह्रो भूमिका खेल्न खबरदारी गरिदिनुपर्यो भन्नेमा उहाँहरूको विशेष जोड थियो,’ भेटवार्तामा भएको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच विभिन्न पदमा भागबन्डा हुन सक्ने र संवैधानिक परिषद बैठक बस्न सक्ने प्रचण्ड र नेता नेपालको शंका थियो । ‘शेरबहादुरजीको भूमिकाप्रति शंका छ, तपाईंहरूले कन्ट्रोल गर्नुस्,’ उनीहरूले पौडेललाई भनेका थिए ।
प्रचण्ड र नेपालसँग भेटवार्ताबारे शुक्रबार साँझसम्म पौडेलले पार्टीमा जानकारी गराएका छैनन् । दुबै पक्षले भेटवार्तालाई गोप्य राख्न खोजेका छन् ।
यस्तै भेटवार्तामा प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले अब के गर्छन् भन्ने आफूहरूले भेउ पाउन नसकेको पनि बताएका थिए ।
‘केपी ओलीले कुन स्तरको कदम चाल्छन् हामीले अझै आँकलन गर्न सकेका छैनौं,’ स्रोत भन्छ, ‘तर ओलीलाई यत्तिकै छाड्न भने हुन्न, उहाँलाई सच्याउन जरूरी छ ।’
माइतीघर मण्डलामा उखु किसानको धर्नामा सहभागी भएका पौडेल त्यहीँबाट प्रचण्ड र नेपाललाई भेट्न गएका हुन् । नेकपाका एक जना नेताको घरमा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रचण्ड र नेपालले शुक्रबार नै पेरिशडाँडामा नेकपाका जिल्लास्तरीय नेताहरूसँग पनि छलफल गरेका थिए । शुक्रबार साँझ नै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।







